कतारका राजा थानीको स्वागतमा काठमाण्डाै सिँगारियाे, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सरकारले सङ्घीय राजधानी काठमाण्डाै सिँगारेकाे छ । कतारका राजा अहिले दिउँसाे ४ बजेपछि नेपाल आउँदै हुनुहुन्छ ।

कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाण्डाैकाे मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले स्वागतद्वार निर्माण, सडक सरसफाइलगायतका काम गरेको हो ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कतारका राजाको स्वागतका लागि महानगरपालिकाले सडक सौन्दर्य, सरसफाइ, हरियाली कायम राख्नेदेखि शान्ति सुरक्षामा समेत व्यवस्थापकीय काम गरेको बताउनुभयो ।

काठमाण्डाैका विभिन्न सडक चोकमा नेपाल र कतारको झण्डा फहराइएको छ । उपत्यकाका संस्कृति परम्परा झल्कने विभिन्न तस्बिर अङ्कित ब्यानरले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ ।

विशिष्ट पाहुना आवतजावत गर्ने सडकमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ । सडक, चोक, गल्ली, पुल, विभिन्न अग्ला भवन लगायतमा पुगेर नेपाली सेनाले सुरक्षा दिइरहेको छ । सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृतरथीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न टोली परिचालन भएको छ । विशिष्ट पाहुनाकाे स्वागतदेखि बिदाइसम्मका विभिन्न कार्यक्रम र समारोहस्थलमा आवश्यकताका आधारमा सुरक्षा संयन्त्र परिचालन गरेको नेपाली सेनाले जनाएको छ ।

सरकारले कतारका राजाको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

तस्बिर : रासस

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *