श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबायद्वारा अमेरिकी ग्रीन कार्डु का लागि आवदेन

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षले अमेरिकी ग्रीन कार्डु का लागि आवेदन दिनुभएको छ । देशमा गएको जुलाईमा भएको प्रदर्शनका कारण पद र देश छाडेर भाग्नुभएका गोटाबायले अमेरिका बस्ने गरी आवेदन फाराम भर्नुभएको जनाइएको छ ।

उहाँले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिनुभएको समाचारमा उल्लेख गरिएको छ । श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्वराजदूत उदयाङगा विरातुङ्गाले उहाँ अमेरिका जाने तयारीमा रहनुभएको जानकारी दिनुभयो ।

पूर्वराष्ट्रपति गोटाबायसँग निकट मानिनु हुने विरातुङ्गाले थाइल्यान्ड फर्किने उहाँको योजना रद्ध भइसकेको पनि बताउनुभयो । पहिला उहाँले नोभेम्बरसम्म थाइल्यान्डमै बस्ने योजना बनाउनुभएको थियो ।

तर कानुन व्यवसायीहरूसँगको परामर्शपछि उहाँ यही महिनाको अन्त्यमा श्रीलङ्का फर्किने निर्णयमा पुग्नुभएको डेलि मिरर पत्रिकाले लेखेको छ । उच्च श्रोतहरूलाई उल्लेख गर्दै लेखिएको समाचारमा गएको महिनादेखि नै उहाँले अमेरिका जाने प्रक्रिया सुरु गर्नुभएको उल्लेख गरिएको छ ।

उहाँकी श्रीमती आइओमा राजापाक्षले अमेरिकाको नागरिकता लिने तयारी गर्नुभएको छ । उहाँहरूको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायी संलग्न भएर काम गरिरहेका छन् भने कोलम्बोबाट पनि विभिन्न कागजपत्र प्रयोग गरिएका छन् ।

देशमा आर्थिक सङ्कट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटाबाय नै रहेको भन्दै आम नागरिक प्रदर्शनमा निस्किएर उहाँको निवास घेर्न थालेपछि उहाँले देश छोडेर भाग्नुपरेको हो । उहाँ सुरुमा म्यानमार जानुभयो । त्यसपछि थाइल्यान्ड हुदै सिङ्गापुर पुग्नुभयो ।

उहाँले देश छोडेपछि श्रीलङ्कामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू पनि परिवर्तन भएका छन् । नयाँ जिम्मेवारी पाएका नेताहरूले सङ्कट समाधानको प्रयास गरिरहेका छन् ।

Share your love