थारु समुदायमा मनाइयो परम्परागत हरेरी पूजा

काठमाण्डौ – पश्चिम तराईका थारु समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन् ।

पुरानै परम्परागत हरेरी पूजा गर्दै अएका थारु समुदायले यस वर्ष पनि धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका हुन् । धानमा किरा लाग्नबाट बचाउन र धान उत्पादनमा वृद्धि हुने विश्वासले हरेरी पूजा गर्ने गर्छन् ।

धान रोपाइँ सकेको केही दिनपछि पश्चिम तराईका थारु समुदायमा गाउँभरका मानिसहरुले रकम सङ्कलन गर्छन् । सङ्कलन भएको रकमले पूजा सामग्री किन्ने र देवी देवतालाई चढाउनका लागि मिठाई किनेर देवि माताका जनावर र देवी, देवताहरुको मूर्ति बनाएर पूजा गर्ने चलन छ ।

हरेरी पूजा गरेपछि धान उत्पादनमा वृद्धि र धानमा किरा समेत नलाग्ने गरेको बर्दिया जिल्लाको बढैया ताल गाउँपालिका(५ का बरघर गोविन्दप्रसाद थारुले बताउनुभयो । थारुहरुको दानवा भन्ने देवताले धानमा लाग्ने किराहरु लाग्नबाट जोगाउनका साथै उत्पादनमा वृद्धि गराउने उहाँको भनाइ छ ।

हरेरी पूजा गर्दा उत्पादनमा वृद्धि हुनुका साथै रोगव्याधी नलाग्ने थारु समुदायको विश्वास छ।

Share your love