हामि रचनात्मक सुझाव दिन्छौ -रास्वपा सांसद गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले संघीय संसदमा प्रस्तुत नीति तथा कार्यक्रमको विरोध नगर्ने र रचनात्मक सुझाव दिने बताएकी छन् । आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् ।

‘सामान्यतया प्रतिपक्षीलाई खुट्टा तान्ने पक्षको रुपमा बुझ्ने प्रचलन छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्घोष गरिसकेको छ– राष्ट्रिय स्वतन्त्र पार्टी रचनात्मक प्रतिपक्षी हो, यानेकी सरकारलाई राम्रो कुरामा पनि प्रशंसा गर्छ । सरकारलाई सघाउँछ पनि तर त्यही समयमा सरकारलाई खबरदारी पनि गर्छ कतै नराम्रो काम गर्ने हो कि ! यो काम हुँदैन कि भनेर’, उनले भनेकी छन् ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धेरै राम्रा कुरा समेटिएका, कतिपय महत्वाकांक्षी कुराहरु पनि रहेको सांसद गौतमले बताइन् । कृषि पशुपंक्षी र खाद्य सम्बन्धी प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरोन्नती गर्नुपर्ने र यस्ता वस्तुहरुको ओसारपसार गर्ने सबै भन्सार बिन्दु र मुख्य शहरमा प्रयोगशाला स्थापना गरिनुपर्ने उनको सुझाव छ ।

सामुदायिक खेती प्रणाली कार्यान्वयनका लागि नीतिगत व्यवस्था गर्ने, स्थानीय उतपादनको बजारीकरणका लागि स्थानीय सरकारसँग मिलेर हाटबजार पुनः सञ्चालन गर्ने लगायतका विषय नीति तथा कार्यक्रममा समेटिनुपर्ने सांसद गौतमको सुझाव छ ।

आयोजना निर्माणका क्रममा हुने मुआब्जाको समस्या समाधानका लागि विशिष्टिकृत संरचना निर्माण गर्नु उपयुक्त हुने उनको प्रस्ताव छ ।

Share your love