स्ववियु चुनाव आचारसंहिता : पोस्टर टाँस्न नपाइने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आउँदाे चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा प्रचारप्रसार गर्नका लागि रङ्गराेगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ ।

त्रिविले जारी गरेको स्ववियु चुनाव आचारसंहितामा चुनावसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्याम्पसको कम्पाउन्ड वालकाे बाहिरिपट्टि, भित्रपट्टि र क्याम्पस वरिपरि बालपेन्टिङ गर्न र त्रिविका क्याम्पसमा हानी/नोक्सानी हुने कुनै प्रकारको प्रचार गर्न पाइने छैन । यस्तै उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली एफोर साइजको एकै रङ भएको मात्रै प्रचारप्रसार गर्न पाइनेछ ।

आचारसंहितामा क्याम्पस निर्वाचन समितिमा दर्ता सङ्घ, सङ्गठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम क्याम्पस निर्वाचन समितिले सञ्चालन गर्ने र त्यस कार्यक्रममा एक–अर्काप्रति आपेक्ष वा आरोप लगाइने वाक्य बोल्न नपाइने पनि आचारसंहितामा उल्लेख गरिएको छ ।

क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने, विभिन्न माग राखी वा चुनावको विषयलाई लिएर बन्द/हड्ताल गर्न नपाइने उल्लेख छ । आचारसंहितामा मतदान हुनुभन्दा ४८ घन्टा अगाडिदेखि चुनावकाे प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।

निर्वाचन कार्यतालिकाअनुसार स्ववियु चुनावका लागि यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ । गएकाे फागुन १९ गते चुनावका लागि विद्यार्थी सङ्घ–सङ्गठन दर्ता भएका छन् । आउँदाे चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा चुनाव हुँदैछ ।

 

Share your love