आर्थिक सुशासन र खर्च प्रभावकारिताको हिसाबले देशको अर्थतन्त्र जोखिमपूर्ण छ : अच्युत वाग्ले

अर्थविद् तथा प्रा.डा. अच्युत वाग्लेले सरकारले क्षमतावान अर्थमन्त्री बनाएर तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ । अर्थविद् डा. वाग्लेले सरकारले अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न अर्थतन्त्र बुझेको क्षमतावान अर्थमन्त्री बनाएर तत्काल सरकारको वर्तमान वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या आउँदाे वर्षको बजेटमार्फत् सम्बोधन गर्नुपर्ने बताउनु भयो । प्रा.डा. वाग्लेले देशको अर्थतन्त्र आर्थिक सुशासन र खर्च प्रभावकारिताको हिसाबले असाध्यै जोखिमपूर्ण अवस्था रहेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको ८ महिना सकिन लाग्दा समेत सरकारको पुँजीगत खर्च २० प्रतिशत मात्रै भएको भन्दै यसमा राज्यको खर्च गर्ने क्षमताको गम्भीर प्रश्न उठेको बताउनु भयो । उहाँले सरकारले समयमा नै पुँजीगत खर्च बढाउन नसक्दा अर्थतन्त्रमा एकपछि अर्को बहुआयामिक खालका समस्याहरु आइरहेको दाबी गर्नुभयो ।

उहाँले पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभावदेखि विकास निर्माण ठप्प, उत्पादकत्वमा कमी जस्ता समस्या विद्यमान रहेको बताउनु भयो । उहाँले न्यून आय भएका मानिसहरुको क्रय शक्ति र आय दुवै कम भएको कारण आर्थिक चक्र नै खण्डित हुने अवस्थामा आइपुगेको उल्लेख गर्नुभयो । उहाँले लघुवित्तको समस्या नयाँ नभएर पुरानै भएको भन्दै २५ देखि ३० प्रतिशत लागतमा सानो–सानो ऋण प्रवाह गरेर ऋणीलाई थप ऋणीमा ऋण थप्नेभन्दा बाहेक केही नभएको बताउनु भयो ।

अर्थविद् वाग्लेले बैंक तथा वित्तसंस्थाहरुले प्राथमिक र निर्देशित क्षेत्र कर्जा प्रवाह नगर्दा समस्या आइरहेको बताउनु भयो । उहाँले बैंकिङ प्रणालीमा तरलता सहज हुँदा घरजग्गा कारोबारमा बैंकहरुले कर्जा लगाउने गरेको भन्दै नियमन गर्ने निकाय राष्ट्र बैंकको कमजोरी भएको बताउनु भयो । उहाँले राष्ट्रिय आर्थिक नीतिको पनि कमजोरी रहेको भन्दै हरेक बजेटमा लाइसेन्स लिएर घर जग्गा कारोबार गर्नुपर्छ भनिन्छ तर अहिलेसम्म त्यो प्रक्रियामा अगाडि बढ्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले राज्यविहीनताको अवस्था बढ्दै गएको कारण बैंक तथा वित्तीय क्षेत्रमा समस्या अत्यधिक चर्किँदै गएको दाबी गर्नुभयो । उहाँले अर्थशास्त्रका बारेमा जानकार, मन्त्रालय चलाउने योग्य र समाजको संरचना कृषि लगायतका समस्या बुझेको मान्छे अर्थमन्त्री भएर नीति बनाए मात्रै समस्याको समाधान हुनसक्ने उल्लेख गर्नुभयो ।

 

Share your love