सेवाग्राहीको खाताबाट ९ लाख हराएको भन्दै माछापुच्छ्रे बैंक चन्द्रपुरमा घेराउ
सेवाग्राहीको खाताबाट ९ लाख रुपैयाँ हराएको भन्दै माछापुच्छ्रे बैंकको चन्द्रपुर शाखा कार्यालयमा घेराउ गरिएको छ । आइतबार ८ लाख रुपैयाँको चेक साट्न गएका बृन्दावन नगरपालिका–३ का रामेश्वरराय यादवको खाताबाट रहस्यमय तरिकाले ९ लाख रकम गायब भएपछि रातिसम्म पीडित पक्षले बैंकमा घेराउ गरेका हुन् ।
बैंक शाखा परिसरमा पीडित पक्षले घेराउ गरिरहँदा कार्यालयमा प्रहरी, प्रदेश सांसदलगायत जनप्रतिनिधि घटना मिलाउने प्रयासमा छन् ।
सेवाग्रहीको खाताबाट रकम गायब भएको जानकारी पाएपछि पनि प्रमुख दास जिम्मेवारीबाट पन्छिन खोजेको यादवको आरोप छ । दासले खातावालालाई आफै पत्ता लगाउनु भने पछि बैंकमा पिडितका आफन्तले केहीबेर होहल्लासहित बिहान ११ बजेतिर घेराउ कार्यक्रम सुरु गरेका हुन् । साँझसम्म पीडितका आफन्तहरु ठूलो संख्यामा बैंकमा जम्मा भएका छन् ।
ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरीको टोली पुगेपछि घटनाबारे अनुसन्धान थालेको जनायो । पीडित यादवले बैंककै कर्मचारीको मिलोमतोमा पैसा गायब भएको आरोप लगाए । ‘मेरो खाताबाट पैसा गायब भएको भनेर बिहानै जानकारी गराउँदा समेत बैंक प्रमुख दासले बेवास्ता गरेका छन्’, उनले भने, ‘खाताबाट धमाधम रकम निस्कँदा बैंकले रोक्न सकेन् । यसैमा मिलोमतो छ ।’
ईलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपी एकनारायण कोइरालाले यादवको खाताबाट रकम गायब भएकोबारे अनुसन्धान थाल्ने बताए ।