सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

सुदूरपश्चिम प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारी निर्वाचित भएका छन् । मंगलबार भएको मतदानमा उनले २९ मत पाएर बहुमत प्राप्त गरेका हुन् ।

यसअघि लगातार दुई पटक भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेर सभामुख चयनमा सकस भएको सुदूरपश्चिममा तेस्रो पटकको मतदानबाट सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका सांसद भण्डारी निर्वाचित भएका हुन् । उनी बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (२) बाट निर्वाचित सांसद हुन् ।मंगलबार भएको मत विभाजनमा भण्डारीले २९ मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन २७ मत आवश्यक हुन्छ । सत्ता गठबन्धनका साझेदार दलहरु माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपाका एक सांसदले उनलाई सघाएपछि उनी निर्वाचित हुन सफल भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार मानबहादुर रावलले २० मत प्राप्त गरेका छन् । रावलको मतदानमा भने चार जना सांसद अनुपस्थित रहेका थिए ।

पहिलो दिन पुस २८ गते भएको मतदानमा एक मत नपुगेर भण्डारी निर्वाचित हुन सकेका थिएनन् । मतदानमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी र एमाले सांसद चक्र मल्ल अनुपस्थित तथा एक मत बदर भएको थियो ।

दोस्रोपटक शनिबार पुनः मतदानमा पनि गठबन्धनका उम्मेदवार भण्डारीको पक्षमा २२ मत आएको थियो । दोस्रो दिन नागरिक उन्मुक्तिका ७ जना सांसदहरु तटस्थ बसेपछि अघिल्लो दिनको मतभन्दा पनि घटेको थियो ।

सुदूरपश्चिममा एमालेलाई मुख्यमन्त्री र माओवादी केन्द्रलाई सभामुखको बाँडफाँट छ । नागरिक उन्मुक्तिलाई उपसभामुख दिने भनिएको छ । तर मुख्यमन्त्री नियुक्त गर्न सघाएको नागरिक उन्मुक्तिले यसअघि सभामुख निर्वाचनमा सघाइरहेको थिएन ।

सोमबार नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो दलका सांसदहरुलाई गठबन्धनलाई मतदान गर्न तर उपसभामुख र सरकारमा भने नजान निर्देशन दिएकी थिइन् ।

Share your love