आयात खुले पनि बढेन राजस्व

पर्सा — सरकारले केही महिनाअघि विभिन्न वस्तुमा लगाएको आयात प्रतिबन्ध खुलाए पनि भन्सार राजस्व बढ्न सकेको छैन । गत महिना आयात प्रतिबन्ध फुकुवा भए पनि वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सारले मासिक राजस्व लक्ष्य भेट्टाउनै मुस्किल परेको हो ।

विलासिताका वस्तुहरू सवारीसाधन, मदिरा, मोबाइललगायत वस्तुको आयातमा सरकारले प्रतिबन्ध लगाएको थियो । सोही कारण भन्सारको राजस्व संकलन पनि घटेको थियो । आयात खुला भए पनि अहिले यी भन्सारको मासिक राजस्व असुली लक्ष्यको ५५ देखि ६० प्रतिशत मात्र छ ।

सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले पुसमा लक्ष्यको ५६ दशमलव ९३ प्रतिशत मात्र राजस्व उठाएको छ । यो भन्सारले पुसमा ५ अर्ब ८३ करोड ७५ लाख रुपैयाँ संकलनको लक्ष्य पाएकोमा ३ अर्ब ३२ करोड ३५ लाख मात्र उठाएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ३२ अर्ब ३ करोड ३८ लाख उठाउनुपर्नेमा २१ अर्ब ५१ करोड ८० लाख रुपैयाँ मात्र संकलन गरेको छ, जुन लक्ष्यको ६७ दशमलव १७ प्रतिशत मात्र हो ।

वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली पनि निराशाजनक छ । पुसमा यो भन्सारले लक्ष्यको ५७ दशमलव २ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । २३ अर्ब ४ करोड ४७ लाख असुलीको लक्ष्य रहेकोमा १३ अर्ब १७ करोड ३४ लाख रुपैयाँ मात्र संकलन गरेको छ । चालु आवमा पुस मसान्तसम्ममा १ खर्ब २२ अर्ब ७७ करोड १८ लाख राजस्व असुलीको लक्ष्य रहेकोमा ७६ अर्ब ६३ करोड ४ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ, जुन लक्ष्यको ६२ दशमलव ४ प्रतिशत मात्र हो ।

सिर्सिया सुक्खा बन्दरगाहका सूचना अधिकृत सन्तोष न्यौपानेले समग्रमै आयात घटेकाले राजस्व असुलीको लक्ष्य भेट्टाउन समस्या भएको बताए । यसबाहेक प्रतिबन्ध लागेका वस्तुको आयात खुल्ला गरिए पनि आयात सुरु हुन अझै केही समय लाग्ने उनले बताए । मदिराको आयात खुल्ला गरिएपछि शुक्रबार पहिलो पटक २ कन्टेनर जाँचपास भएको उनले बताए ।

वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवाल सवारीसाधन र इन्धनको आयात घटकाले राजस्वमा पनि असर पुगेको बताउँछन् । वीरगन्ज नाकाबाट सर्वाधिक राजस्वमा योगदान गर्नेमा यी दुवै वस्तु मुख्य हुन् । हाल एकीकृत सुरक्षा जाँचचौकी परिसरमा थन्किएका करिब २ हजार सवारीसाधनमध्ये टाटा कम्पनीका सवारी ७५ प्रतिशत हाराहारीमा रहेको उनले बताए । टाटाका सवारीसाधन आयातकर्ताले माघमा आफ्ना जाँचपास गराएर लग्ने बताएकाले त्यसले राजस्व बढाउने बरुवालको भनाइ छ ।

Share your love