शेयर बजार २७ अङ्कले बढ्यो, साढे ९४ करोड रुपैयाँको कारोबार

लामो समयपछि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा उत्पादन, बीमा, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजार दोहोरो अङ्कले बढे पनि कारोबार रकममा भने सुधार आएको छैन ।

आज दुई सय ६२ वटा कम्पनीका ३३ लाख १५ हजार कित्ता शेयर ९४ करोड ५२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड १० लाख रुपैयाँको र तमोर जलविद्युत् कम्पनीको शेयर पाँच करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेड कम्पनीको शेयर १० प्रतिशत र आदर्श लघुवित्तको शेयर साढे नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि तमोर जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै साढे तीन प्रतिशतले घटेको छ ।

 

Share your love