अब एमालेलाई वा पूर्वराजालाई दाेष दिएर सरकार उम्कन मिल्दैन : गगन थापा

सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिनुभएको छ । सङ्घ, प्रदेश र पालिका पाँच वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अब अरू कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उहाँले बताउनुभयाे ।

मङ्गलवार काठमाण्डाैमा आयोजित नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्वराजालाई दोष लिएर सरकार उम्कन नमिल्ने तर्क गर्नुभयो । उहाँले पाँच वर्षपछि नेपाली कांग्रेसले नागरिककाे माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पाँच वर्षको अवधि छ । मैले भनिरहेको छु– म नेपाली कांग्रेसको एउटा कार्यकर्ता हुँ । सङ्घमा कांग्रेसकाे सरकार, प्रदेशमा कांग्रेसको सरकार, चार सयभन्दा बढी ठाउँमा गठबन्धन सरकार छ । अब कसैलाई दोष दिएर उम्किन पाइँदैन । अब भूतप्रेतलाई भनेर पनि पाइन्न । भूतपूर्व राजालाई भनेर पनि पाइन्न । अब नेकपा एमालेले गरेन, अरूले गरेन भन्न पनि पाइन्न । गर्ने जिम्मा लिएर आएपछि अब हामीले गर्नुपर्छ । परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ ।’

महामन्त्री थापाले शिक्षकहरूको तलब, भत्ता बढाउन पनि सरकारसँग माग गर्नुभयो ।शिक्षकहरूलाई खुसी नबनाई देशको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरूको आवश्यकता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाइ गर्न नहुने उहाँको भनाइ थियो ।

थापाले सङ्घीय शिक्षा ऐन चार महिनाभित्र संसदबाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरूलाई आग्रह गर्नुभयो ।

 

Share your love