शान्ति प्रक्रियाका मुद्दा एमालेको कारण रोकिएका हुन्: देव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले एमालेले सहयोग नगर्दा द्वन्द्वकालीन घटनामा न्याय निरूपण यथावत रहेको तर्क गरेका छन्।

आइतबार माओवादी घटक दलहरूले गरेको संयुक्त कार्यक्रममा महासचिव गुरुङले अघिल्लो प्रतिनिधिसभामा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक एमालेको असहयोगका कारण रोकिएको बताए।

सरकारले सर्वोच्च अदालतको आदेशअनुसार सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन संसदमा दर्ता गरेको तर एमालेको असहयोगले रोकिएको महासचिव गुरुङको दावी छ।

‘पटक-पटक दलका बीचमा सहमति नजुट्दासम्म विधेयक अगाडि बढ्न सकेन, विडम्बनाको विषय भनौँ नेकपा एमालेको नेतृत्वले शान्ति प्रक्रिया टुंग्याउन लगातार नकारात्मक खालको धारणा राख्दै आयो’,  महासचिव गुरुङले भने, ‘विधेयक अन्तिम समयमा पुग्दा पनि उहाँहरूको फरक धारणाका कारण डेडलक भयो।’

सदनमा विधेयक अड्काएर द्वन्द्वकालीन मुद्दालाई फौजदारी मुद्दासरह नियमित अदालतमा लैजाने प्रवृत्ति देखिएको गुरुङको तर्क छ।

Share your love