विश्व मधुमेह दिवस सप्ताहव्यापी रुपमा मनाइँदै

काठमाण्डाै ‍- विश्व मधुमेह दिवस यसवर्ष नेपालमा सप्ताहव्यापी रुपमा मनाइँदैछ । ‘मधुमेह सेवामा पहुँच बढाऔँ’ साथै ‘सुरक्षित भविष्यको लागि मधुमेहबारे जानौँ’ भन्ने मूल भाव तथा नाराका साथ आजदेखि मङि्सर एक गतेसम्म मधुमेहको आँखामा असर सम्बन्धी सचेतना सप्ताहका रुपमा मनाउन लागिएको हो ।

सप्ताहका अवसरमा तिलगङ्गा आँखा प्रतिष्ठानले अस्पतालको हाताभित्र जानकारीमूलक विभिन्न सामग्री वितरण गर्दैछ । भोलि शनिवार साइकल र्यालीको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । र्याली काठमाण्डौको तिलगङ्गाबाट लैनचौर हुँदै स्वयम्भू र स्वयम्भूबाट टेकु, त्रिपुरेश्वर, नयाँ बानेश्वर हुँदै तिलगङ्गा पुग्नेछ । स्वयम्भू सामुदायिक आँखा केन्द्रमा भोलि मधुमेह भएका व्यक्तिको निःशुल्क आँखा जाँच तथा निःशुल्क लेजर उपचार र फण्डुस फोटोको सेवा प्रदान गरिँदैछ । त्यसैगरी मधुमेह दिवसको मुख्य दिन कात्तिको २८ गते स्वास्थ्य शिक्षा कार्यक्रमको आयोजना गरिएको छ ।

अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मिर्गौलाले काम नगर्ने अवस्था र असामयिक निधनको प्रमुख कारणको रुपमा मधुमेह देखिएको छ । हरेक तीन मध्ये एक जना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टीमा क्षति हुन्छ । दुईमध्ये एक वयस्कमा मधुमेह रोगको निदान भएको छैन । विश्वमा १० जनामध्ये १ जनामा मधुमेह देखिएको छ । गर्भावस्थामा रहँदा प्रत्येक ६ जनामध्ये १ जनामा मधुमेह प्रभाव देखिन्छ । मधुुमेह भएका व्यक्तिलाई यसबाट हुने असरको व्यवस्थापन गर्न नियमित शिक्षाको पहुँच पुर्याउन आवश्यक छ ।

अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वभर ५ सय ३७ मिलियन मानिस मधुमेहबाट ग्रसित छन् । आँखामा देखिने समस्या मध्ये डायबेटिक रेटिनेपेथी दृष्टिविहीन गराउने कारणहरु मध्ये एक प्रमुख कारण हो । विश्वमा कुल अन्धोपनामध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना डायबेटिक रेटिनोपेथीको कारणले हुने गरेको र आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाइएको छ । मधुमेहका व्यक्तिमा अन्य व्यक्तिको तुलनामा दुई गुणा बढि हुन्छ भने अन्धोपनको समस्या पच्चिसौँ गुणा बढि हुने गर्छ ।

मधुमेहले आखाँको पर्दा अर्थात् रेटिनामा असर पार्छ । मधुमेह भएका व्यक्तिमा आँखा धमिलो हुँदासम्म रेटिनामा क्षति भइसकेको हुन्छ । आँखामा धेरै असर गरिसकेपछि मात्र रोगको बारेमा थाहा हुन सक्छ जति बेला उपचारपछि पनि पूर्ण रुपमा दृष्टि फर्काउन कठिन हुन्छ ।

मधुमेहले आँखाको पर्दाको रक्तकोशिकामा असर गरी पर्दाको रक्तसञ्चारमा प्रभाव पार्छ । यदि आँखाको पर्दामा असर छ भने उपचारपछि पनि नियमित आँखा परीक्षण गराउनुपर्ने नेत्र विशेषज्ञको भनाइ छ । मधुमेह रोगको पहिचान हुनासाथ डाक्टरको सल्लाह अनुसार नियमित रुपमा आँखाको परीक्षण गराउन र समयमै मधुमेह रोग तथा यसबाट हुनसक्ने असरका बारेमा सचेत बन्न पनि नेत्र विशेषज्ञको सल्लाह छ ।

Share your love