विदेशी मुद्रा सञ्चिति १४ खर्बभन्दा धेरै, शोधनान्तर स्थिति डेढ खर्ब रुपैयाँले बचतमा

अर्थतन्त्रका मुख्य सूचकमा सुधार हुँदै गएका छन् । नेपाल राष्ट्र बैंकले आज मङ्गलवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको तथ्याङ्कअनुसार मुख्य सूचक केही सकारात्मक देखिएका हुन् ।

साउनदेखि फागुनसम्म चालु खाता ४४ अर्ब ३१ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको आठ महिनामा चालु खाता चार खर्ब ६० अर्ब ७२ करोड रुपैयाँले घाटामा रहेको थियो । यस्तै शोधनान्तर स्थिति एक खर्ब ४८ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको नाै महिनामा शोधनान्तर स्थिति दुई खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको थियो ।

यस्तै विदेशी विनिमय सञ्चितिमा पनि सुधार आएको छ । गएको असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड  रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५ दशमलव २ प्रतिशतले बढेर फागुन मसान्तमा १४ खर्ब एक अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गएको असार मसान्तमा नाै अर्ब ५४ करोड रहेकोमा फागुन मसान्तमा १२ दशमलव १ प्रतिशतले वृद्धि भई १० अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ ।

बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० महिना नाै दिनको वस्तु आयात र नाै महिना चार दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । तर खुद प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको  छ । आठ महिनामा वैदेशिक लगानी अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको आठ महिनामा भने खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।

 

Share your love