सीजी डेभलपर्सले भन्याे– ‘बखुन्डोलमा अपार्टमेन्ट बनाउने क्रममा घर भासिएको घटनामा संलग्नता छैन’

चौधरी ग्रुपले ललितपुरको बखुन्डोलमा अपार्टमेन्ट बनाउने क्रममा घर भासिएको घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ ।

सीजी ग्रुपअन्तर्गतको सीजी डेभलपर्सले आज मङ्गलवार एक विज्ञप्ति निकालेर समिट होटल प्रालीले सञ्चालन गरिरहेको परियोजनाको निर्माणका क्रममा सीजी डेभलपर्स व्यवस्थापन र सञ्चालनमा संलग्न नरहेको जानकारी दिएको हो । अहिले बन्दै गरेको समिट रेसिडेन्सी अर्थात् अपार्टमेन्टमा आफ्नो जम्मा ३० प्रतिशत साझेदारी रहेको र ७० प्रतिशत साझेदारी रविभक्त श्रेष्ठ, अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ, संचित श्रेष्ठ र उहाँको परिवारको रहेको सीजीले जनाएको छ ।

समिट अपार्टमेन्ट परियाेजनाको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी संचित श्रेष्ठले लिएकाले वरपरका घर भत्किएको तथा जमिन भासिएको विषयमा सीजी ग्रुप र सीजी डेभलपर्सको संलग्नता नरहेको विज्ञप्तिमा उल्लेख छ । सीजी डेभलपर्सले बनाएका परियोजना प्रतिष्ठित रहेको पनि सीजी ग्रुपले जिकिर गरेको छ ।

बखुन्डाेलमा निर्मार्णाधीन अपार्टमेन्टका कारण वरपरका केही घर भत्किने र भासिने समस्या आएको छ । भरपर्दो अध्ययनविना अपार्टमेन्ट निर्माण गरेर वरपरको बस्ती नै जोखिममा पारेको भनेर अहिले चर्को आलोचना भएको छ ।

 

Share your love