विगत १० वर्षमा नेपालमा विपदबाट ४५ अर्ब बराबरकाे क्षति भएकाे छ: विज्ञ धर्म उप्रेती

बिहीबार अन्तर्राष्ट्रिय विपद् जोखिम न्युनीकरण दिवसको अवसरमा विज्ञहरूले विश्वभर नै जलवायु परिवर्तनको असरले अकल्पनीय क्षति पुगिरहेको भन्दै यसको रोकथाम र न्युनीकरणका लागि नेपालले पनि विशेष चासो दिएर तीनै तहको सरकारले एक आपसमा समन्वयात्मक भूमिकामा काम गर्न आवश्यक रहेको बताएका हुन्।

जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले जलवायु परिवर्तनको असरलाई कम गर्न तीनै तहको सरकारले सहकार्य गर्न आवश्यक रहेको बताए।

उनले सरकारले बनाएका नीति, नियमको कार्यान्वयनका लागि प्रविधि र पैसाको जरुरी रहेको पनि उल्लेख गरे।

डा. उप्रेतीले भने, ‘संगठनात्मक हिसावले हामी धेरै तयारी अवस्थामा छौँ। विपद् जोखिम न्युनीकरण तथा प्राधिकरण गठन भएको छ। ७५३ वटै पालिकामा विपद् जोखिम न्युनीकरण र व्यवस्थापन समिति बनेका छन्, ऐन बनेको छ, नीति बनेको छ, कार्यनीति बनेको छ, संरचनात्मक काम सबै भएको छ। कार्यान्वयनमा लैजान प्रविधि र पैसाको जरुरी रहेको छ। यसमा सरकार र सबै सरोकारवाला निकायको भूमिका छ। कुनै एउटा संस्थाले मात्रै जलवायु परिवर्तनको असरलाई कम गर्न‍ सकिँदैन। संयुक्त प्रयास आवश्यक छ। सरकारले कुन संस्थासँग कस्तो विज्ञता छ, कस्तो विज्ञ कहाँ परिचालन गर्ने र केन्द्रदेखि स्थानीय सरकारसम्मको सहकार्यलाई बढाउन आवश्यक छ।’

उनले विगत १० वर्षको तथ्यांकलाई हेर्दा नेपालमा सबै विपद्जन्य घटनाको कुल क्षतिमा आधा क्षति जलवायु परिवर्तनका कारण भएको बताए।

विगत १० वर्षको तथ्यांकअनुसार नेपालमा सबै खालका विपदबाट ४५ अर्ब बराबरको क्षति भएको डा. उप्रेतीकाे भनाइ छ।

उनले भने, ‘विगत १० वर्षको तथ्यांकलाई केलाउने हो भने सबै खालका विपदबाट ४५ अर्ब बराबरको क्षति भएको छ। सबै खालका विपदबाट १५ हजार मानिसले ज्यान गुमाएका छन्, सबै खालका विपदबाट २८ हजारजति पशुचौपायको क्षति भएको छ, सबै खालका विपदबाट ९ लाख जति भौतिक संरचनाहरू ध्वस्त भएका छन्। जलवायु परिवर्तनको हिसाबले मात्रै हेर्ने हो भने पनि विगत १० वर्षको तथ्यांक हेर्दा २० अर्ब बराबरको क्षति भएको छ। विश्वभर नै जलवायु परिवर्तनका कारण जुनकुनै पनि बेला नौला घटना भइरहेका छन्। विश्वभर नै यो अवस्था छ। दुई दिन अघि मात्रै सुदूरपश्चिम र पश्चिमी भागमा भएको क्षतिलाई हेर्ने होभने प्रत्येक वर्ष घटना बढिरहेका छन्। असोजमा यति ठूलो बाढी देखेका थिएनौँ। असोजमा हिउँका कारण मानिसको मृत्यु र भौतिक संरचना भत्किएको देखेका थिएनौँ।’

यस वर्ष ‘सबैको लागि पूर्वसूचना, सबैको लागि पूर्व कार्य’ भन्ने नारासहित विश्व अन्तर्राष्ट्रिय विपद् जोखिम न्युनीकरण दिवस मनाइँदैछ।

Share your love