महिला क्रिकेट : एपीएफ १४ बलमै विजयी

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीकाे एपीएफ क्लबले गण्डकी प्रदेशलाई नाै विकेटले पराजित गरेको छ ।

आज बिहीवार पोखरा रङ्गशालामा भएको खेलमा गण्डकीले दिएकाे २७ रनको झिनाे लक्ष्य एपीएफले एक सय ६ बल बाँकी छँदै भेटायाे । एपीएफको जितमा सीता राना मगरले पाँच बलमा दुई चौका प्रहार गर्दै १२ रन जोडिन् । इन्दु बर्माले तीन बलमा दुई चौकासहित नाै रन जोडिन् । बलिङतर्फ गण्डकीकी श्रृष्टि जैशीले एक विकेट लिइन् ।

यसअघि पहिला ब्याटिङ गरेकाे गण्डकीले १८ ओभर २ बलमा सबै विकेट गुमाएर २६ रन बनाएकाे थियाे । गण्डकीका कुनै पनि खेलाडीले दोहोराे अङ्कमा रन बनाउन सकेनन् । श्रृष्टि जैशीले सर्वाधिक पाँच रन जाेडिन् । बलिङतर्फ एपीएफकी इन्दु बर्माले तीन ओभरमा चार रन दिएर दुई विकेट लिइन् । यस्तै सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता राना मगरले एक/एक विकेट लिए ।

जितसँगै एपीएफ समूह ‘ए’ को शीर्ष स्थानमा पुगेको छ । एपीएफले दुई खेलमा दुई जित जित्दै चार अङ्क जोडेको छ । प्रतियोगितामा अहिले मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको खेल चलिरहेकाे छ ।

 

Share your love