रुसको एक विद्यालयमा गोली चल्दा ७ बालबालिकासहित १४ जनाको ज्यान गयो

मध्य रुसको इजेभस्क सहरको एक विद्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये सात जना बालबालिका र दुई जना सुरक्षा गार्डसमेत रहेका समाचार संस्था एएफपीले जनाएको छ ।

अन्धाधुन्ध गोली चलाउँदा २१ जना घाइते भएका छन् । गोली चलाउने व्यक्तिले आफैँलाई पनि गोली हानेका खबरमा उल्लेख छ । विद्यालयमा एक हजार जना विद्यार्थी अध्ययनरत छन् ।

रसियाली सञ्चारमाध्यमले पोस्ट गरेका भिडिओमा गोलीबारी भएको भवनभित्र आतङ्क देखिएको छ । अहिले विद्यालय भवनबाट कर्मचारी र विद्यार्थीलाई बाहिर निकालिएको र घटनाको अनुसन्धान थालिएको रुसी प्रहरीले जनाएको छ ।

Share your love