आजदेखि भारतीय गाडीलाई पूर्वी नाकाबाट ‘सुविधा पास’

झापा – मेची भन्सार कार्यालयले आज सोमवारदेखि पूर्वी नाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका गाडीलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क सुविधा पास उपलब्ध गराउन थालेको छ ।

गएको तीन वर्षदेखि भारतीय गाडीलाई यो सुविधा दिइएको थिएन । भन्सार कार्यालयले आइतवार सूचना निकालेरै असोज १० गतेदेखि नाकाबाट प्रवेश गर्ने भारतीय जीप, कार र मोटरसाइकल आदिलाई सुविधा पास दिइने जानकारी गराएको छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवप्रसाद ओलीले मेची उद्योग वाणिज्य सङ्घ र पर्यटन व्यवसायसँग आबद्ध सङ्घ–संस्थाले सीमा नजिकको बजारसम्म भारतीय गाडीलाई सुविधा पासमा प्रवेश दिन माग गर्दै आएको बताउनुभयो । मेची उद्योग वाणिज्य सङ्घले मेची भन्सार कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै त्यो माग दोहोर्‍याएको थियो । भन्सार कार्यालयले व्यवसायीसँग यस विषयमा छलफलसमेत गरेको थियो ।

मेची भन्सार कार्यालयको सूचनामा त्यस्तो सुविधा बिहान ८ देखि बेलुका ५ बजेसम्म चल्ने गरी भारतीय गाडीले पाउने उल्लेख छ । यो सुविधा पास पाउन भारतीय गाडीले कुनै शुल्क बुझाउनु पर्दैन । यसअघि भारतीय गाडीले २४ घण्टासम्म नेपालको सीमाभित्र गाडी चलाउन दैनिक पाँच सय रुपैयाँ तिरेर अस्थायी अनुमतिपत्र लिनुपर्थ्यो ।

मेची उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले भारतीय नम्बर प्लेटका निजी प्रयोजनका गाडीले नेपालसँगको सीमा नाघेर धुलाबारी बजारसम्म आउन ‘सुविधा पास’ पाउँदा नेपाली बजारमा चहलपहल बढ्ने बताउनुभयो ।

‘पहिले यस्तो सुविधा पास दिने व्यवस्था हुँदा हाम्रो व्यापार व्यवसाय र पर्यटन फस्टाएको थियो’, मेची भन्सार एजेन्ट सङ्घका अध्यक्षसमेत रहनुभएका निरौलाले भन्नुभयो, ‘सुस्ताउँदै गएको हाम्रो सीमावर्ती काँकरभिट्टा, इँटाभट्टा र धुलाबारीमा भारतीय पर्यटक र व्यवसायीको सहज आवागमनले बजार चलायमान हुने अपेक्षा गरेका छौँ ।’

Share your love