राष्ट्रपतिमा नयाँ गठबन्धनलाई सुविधाजनक बहुमत पुग्ने

आउँदो २५ गते हुने राष्ट्रपति चुनावमा नयाँ गठबन्धनका उम्मेदवार सुविधाजनक बहुमतका साथ विजयी हुने देखिएको छ ।

हिजो प्रतिनिधिसभामा रहेका आठ दल कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, लोसपा, जनमत र राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् । यी सबै दलको मतभार जोड्दा कांग्रेसका उम्मेदवारले ३१ हजारभन्दा बढी मतभार पाउने सम्भावना देखिएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति चुनावमा ५२ हजार ६ सय २८ मतभार रहेकोमा त्यसको ५१ प्रतिशत अर्थात् २६ हजार ३ सय १५ मतभार ल्याउने उम्मेदवार निर्वाचित हुनेछन् । निर्वाचन आयोगका अनुसार कांग्रेसको १६ हजार १४२, माओवादीको ७ हजार ७४५, एकीकृत समाजवादीको २ हजार ५७४, जसपाको १ हजार १४५, जनमतको १ हजार २ सय ४२, लोसपाको ९७१, नागरिक उन्मुक्ति पार्टीको ८९२ र जनमोर्चाको २०६ मतभार रहेको छ ।

यस्तै एमालेको १५ हजार तीन सय ९१ मतभार छ । राष्ट्रिय स्वतन्त्र पार्टीको एक हजार पाँच सय एक मतभार छ । राप्रपाको दुई हजार चार सय ५० मतभार तथा नेमकिपाको दुई सय २३ मतभार रहेको छ । स्वतन्त्रको सङ्घमा चार र प्रदेशमा नौ सदस्य गरी सात सय ४८ मतभार रहेको निर्वाचन आयोगको तथ्याङ्क छ ।

 

Share your love