राष्ट्रपतिको लागि आज मनोनयन दर्ता

आउँदो २५ गते हुने राष्ट्रपति पदको चुनावका लागि आज मनोनयन दर्ता हुँदैछ । नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

सङ्घीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति चुनावमा फेरि उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार आज दिउँसो ४ बजेभित्र मनोनयपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ ।

फागुन २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । २५ गते मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । त्यही दिन बेलुकी ७ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालय रहेको परिसरभित्रै मतदान केन्द्र रहनेछ । राष्ट्रपति चुनावका लागि सङ्घीय संसद् सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ । सङ्घीय संसद् र प्रदेश सभा सदस्यको मतभार फरक हुने भएकाले यस्तो व्यवस्था गरिएको हो । सङ्घीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ ।

निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुनेछ । त्यसरी बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ । त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछन् ।

बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीचको मतदानबाट समेत कुनै उम्मेदवारले कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा फेरि मतदान हुनेछ । त्यस्तो मतदानमा खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ ।

 

Share your love