आन्तरिक राजश्व विभागको नक्कली स्टिकरसहित पर्सा प्रहरीले वीरगंजबाट दुई जनालाई पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा स्थित बाइपास सडक खण्डबाट आन्तरिक राजश्व विभागको नक्कली स्टिकर सहित भारतको रक्सौलबाट वीरगंज तर्फ आई रहेको अवस्थामा  जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बारा जिल्ला विश्रामपुर गाउँपालिका वडा नम्बर ५ घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ त्रिशूल चोक बस्ने २७ वर्षीय मनिष कुमार साह तेली र २५ वर्षीय रञ्जनकुमार रामलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले सीमावर्ती भारतीय शहर रक्सौलबाट वीरगञ्ज तर्फ राजस्व विभागको नक्कली स्टिकर ल्याई रहेको सूचना प्राप्त भएपछि  गोप्य रूपमा निगरानी गर्दै गरेको अवस्थामा प्रहरीले प्र.२–०३–००८ प २६६९ नम्बरको मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

मनिषकुमार साहले लगाएको ज्याकेटको भित्री खल्तीमा आन्तरिक राजश्व विभागको लिक्वर २५ अप ३७५ एम एल लेखिएको नक्कली स्टिकर ३९ थान बरामद भएको  प्रवक्ता गिरीले बताउनुभयो । अभियुक्तहरूलाई विभागको नक्कली स्टिकर सहित थप कारबाहीका लागि आज पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता गिरीले बताउनु भयो ।