गृह मन्त्रालयले माघ २ गते २५औँ भूकम्प सुरक्षा दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ ।

गृह मन्त्रालयमा आज बसेको २५औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले माघ २ गते भूकम्प सुरक्षा दिवस विभिन्न सचेतनामूलक कार्यक्रमहरू गरी मनाउने निर्णय गरेको हो  ।

बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रबि लामिछानेले देशैभर भूकम्प सुरक्षा दिवस मनाउन सरोकारवाला सबैलाई आग्रह गर्नुभयो । उहाँले भूकम्प जोखिम न्यूनीकरण गर्नका लागि सचेतना कार्यक्रममार्फत जनतामा जागरण फैलाउन जरुरी रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री लामिछानेले भूकम्प सुरक्षा दिवस मनाइसकेपछि त्यसको  समीक्षा गर्दै आगामी दिनमा अझ बढी प्रभावकारी ढङ्गले अगाडी बढ्ने गरी काम गर्न सरोकारवालाहरूलाई निर्देशन पनि दिनुभयो ।

सोही अवसरमा उपप्रधानमन्त्री लामिछानेले ‘नेपालमा भूकम्प सुरक्षा दिवस २०५५ सालदेखि २०७८ सालसम्मका विषयगत प्राथमिकताहरू’ नामक पुस्तकको लोकार्पण समेत गर्नुभयो ।

भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले संघ, प्रदेश, जिल्ला प्रशासन कार्यालयहरू र स्थानीय तहहरूलाई दिवस मनाउनका लागि पत्राचार गर्ने र क्रियाकलापहरू राष्ट्रिय कार्यक्रममा समावेश गर्न पुस २६ गतेभित्र आह्वान गर्ने निर्णय पनि गरेको छ ।