४७ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस पर्साले आज चियापान कार्यक्रमको आयोजना गरेको छ ।  नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण प्रसाद कुर्मीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सांसद रमेश रिजाल, अजय कुमार चौरसिया लगायतको सहभागिता रहेको थियो ।

वीरगंजको नगर सभा गृहमा आयोजित कार्यक्रममा पर्सा जिल्लाका सांसदहरु प्रभु हजरा, विना जयसवाल, उद्योग वाणिज्य संघ मधेश प्रदेशका  अध्यक्ष गणेश लाठ, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, पार्टीका जिल्ला तथा प्रदेश सभाका पदाधिकारी, विभिन्न भातृ सङ्गठनका सभापति एवं अध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारी एवं सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले आफूमाथि आठ÷आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज पर्सामा मेलमिलाप दिवस मनाइएको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सांसद रमेश रिजालले बताउनु भयो ।

विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किनु भएको थियो ।

भारत निर्वासनमा रहँदा कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४६ वर्षअघि देशको सार्वभौमसत्ता संरक्षणका लागि आजकै दिन स्वदेश फर्किनु भएको हुँदा काँग्रेसले सो दिनको स्मृतिमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको अर्का केन्द्रिय सदस्य अजय चौरसियाले बताउनु भयो ।