यूएईले नेपाललाई दियाे २ सय ८ रनकाे लक्ष्य

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले नेपाललाई २ सय ८ रनकाे लक्ष्य दिएकाे छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७ रन बनायाे । यूएईका लागि आसिफ खानले ७२ र राेहन मुस्तफाले ५२ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । सन्दीपले १० ओभरमा २७ रन दिँदै ३ विकेट लिएका हुन् । यस्तै करण केसी, आरिफ शेख र कुशल मल्लले १/१ विकेट लिए ।

यो शृङ्खलाकाे पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो । आजको खेलमा नेपालले यूएईलाई हराएमा आफ्नो एकदिवसीय क्रिकेट इतिहासमा लगातार छैटौँ जितको कीर्तिमान बन्नेछ । नेपालले अर्को खेलमा भोलि शुक्रवार पीएनजी र आउँदाे आइतवार यूएईसँग खेल्नेछ । अङ्क तालिकामा यूएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपालले शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोट खेल्न बाँकी ७ मध्ये ६ खेल तथा शीर्ष ५ मा रहेर एकदिवसीय मान्यता जोगाउन अब ४ खेल जित्नुपर्ने हुन्छ ।

 

Share your love