एमाले भन्छ– ‘रास्वपाले हामीलाई सघाउँछ’, रास्वपा भन्छ– ‘पुस १० काे सहमति हेरेर निर्णय लिन्छाैँ’

नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ । नेकपा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति चुनाव नजिकिँदै गर्दा संसदमा सहभागी हुने राजनीतिक दलहरूसँग भेटघाट गर्ने क्रमस्वरूप नै आज बिहीवार रास्वपा सभापति लामिछानेसँग भेट गरेकाे हाे ।

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले रास्वपाले राष्ट्रपति चुनावमा आफ्नो पार्टीका उम्मेदवार नेम्वाङलाई सहयोग गर्ने कुरा भनाइबाट बुझेको बताउनुभयो । उहाँले यस बेला सरकारले खोजेको सहमतिलाई सहमतिको दिशातर्फ लैजान सक्ने व्यक्ति नेम्वाङ नै रहेको जिकिर पनि गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘संविधान सभा अध्यक्षको रूपमा र सभामुखको रूपमा सफल भूमिका खेल्नुभएको सुवासचन्द्र नेम्वाङलाई हामीले मतदान गर्न आग्रह गर्दै रास्वपा अध्यक्ष रवि लामिछानेलाई भेटेका हौँ । राष्ट्रिय सहमति जसरी देशले खोजिरहेको छ त्यसलाई सहमतितर्फ फर्काउनसक्ने हिसाबले उहाँ सक्षम हुनुहुन्छ । अध्यक्ष लामिछानेले सुवासचन्द्र जत्तिको मान्छे देशले कम नै पाउँछ र यो एउटा मौका हो भन्ने कुरा गर्नुभयो ।’

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र आफूहरूले पार्टीको आन्तरिक छलफलपछि निर्णय लिने जानकारी गराएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीले निर्णय गर्न बाँकी छ भनेका छौँ । उहाँ एउटा उपयुक्त पात्र हो यसमा कुनै शङ्का छैन । निर्णय आज नै गर्न सकिँदैन, केन्द्रीय समिति र संसदीय दलको बैठकमा याे कुरा राख्छौँ र त्यहाँ निर्णय हुन्छ । पुस १० गतेकाे सहमतिको हामी साक्षात् छौँ, त्यसलाई पनि हामीले मध्यनजर गरेका छौँ ।’

राष्ट्रपति चुनाव नजिकिएसँगै उम्मेदवारहरू सांसदहरूलाई भेट्ने क्रममा व्यस्त छन् ।

 

Share your love