राष्ट्रपति उम्मेदवार नेम्वाङ र माधव नेपालबीच भेट, मत दिन आग्रह

नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले नेकपा (एकीकृत समजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको छ ।

बिहीवार एमालेका उपाध्यक्षसमेत रहनुभएका नेम्वाङले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग भेट गर्नुभएको हो । उहाँसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ र डा. विमला राई पौड्याल हुनुहुन्छ । नेकपा (एकीकृत समाजवादी) बाट भने अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा छलफलमा सहभागी रहनुभएको छ ।

राष्ट्रपतिको चुनाव नजिकिएसँगै नेपाली कांग्रेसको तर्फबाट आठ दलको समर्थनमा उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेल र एमालेका नेम्वाङ राष्ट्रपतिका लागि सहयोग माग्न तीव्र भेटघाटमा हुनुहुन्छ । नेकपा (एकीकृत समाजवादी) ले भने बुधवार सचिवालय बैठकबाट राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेको छ ।

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले भेटमा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति चुनावमा नेम्वाङलाई मतदान गर्न आग्रह गरेको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष नेपालले मत माग्न आएकोमा धन्यवाद ज्ञापन गर्दै बिदा गरेको बताउनुभयो । उहाँले राष्ट्रपति चुनावमा आफ्नो पार्टी रामचन्द्र पौडेलेको प्रस्तावक रहेको र तत्काल यसै गर्छाैँ भन्ने सम्भावना नरहेको उल्लेख गर्दै एक पार्टीले अर्को पार्टीको नैतिकतालाई बुझेर अघि बढेको बताउनुभयो ।

त्यस्तै नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफूहरूले पार्टीबाट उम्मेदवार नेम्वाङलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेको र कुराकानी सकारात्मक रहेको उल्लेख गर्नुभयो । उहाँले दुई पार्टीबीचको एकताको अभियानलाई अघि बढाउने कुरामा पनि सहमति भएको बताउनुभयो । उपमहासचिव गुरुङले दुई पार्टीबीच पार्टी एकताको अभियानको शुभारम्भ भएको पनि बताउनुभयो ।

 

Share your love