युक्रेनमा तत्काल ठूलो आक्रमण गर्ने याेजना छैन : भ्लादिमिर पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध तत्कालका लागि थप ठूलो आक्रमणको योजना नरहेको बताउनुभएको छ ।

कजाकस्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि पत्रकारहरूसँग उहाँले रुसको उद्देश्य पश्चिमा समर्थित देशलाई नष्ट गर्नु नभएको भन्दै अहिले ठूलो आक्रमणको आवश्यकता नभएको बताउनुभएको समाचारसंस्था एएफपीले जनाएको छ ।

रूसले युक्रेनको राजधानी किभलगायत विभिन्न सहरमा ठूलो सङ्ख्यामा क्षेप्यास्त्र आक्रमण गरेको केही दिनपछि पुटिनले यस्तो बताउनुभएको हो । गएको फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएका पुटिनले मित्रराष्ट्रहरूबाट समेत आलोचनाको सामना गर्नुपरेको छ । तर युक्रेनमा सरकार ढाल्ने असफल प्रयास र क्षतिका बाबजुद रूसले सबै कुरा ठीक गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले युक्रेनमा सैन्य कारबाहीका लागि तीन लाख जनशक्ति परिचालन गर्ने लक्ष्य रहेकोमा २ लाख २२ हजार जनशक्ति परिचालन गरिएको बताउँदै झण्डै दुई हप्ताभित्र सबै परिचालनका काम सम्पन्न हुने बताउनुभयो।

Share your love