माेटरसाइकल दुर्घटनामा परी पर्साका दुईजनाको ज्यान गयो 

सर्लाहीको ईश्वरपुरमा मोटरसाईकल दुर्घटना हुँदा पर्सा जिल्लाका २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँके जङ्गलमा बिहीबार राति दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँएका थिए।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा प्रदेश २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकलका चालक र त्यसमा सवार २ जनाको मृत्यु भएको हो।

दुर्घटनामा पर्साकाे मिर्जापुर घर भएका ३८ वर्षीय प्रहरी हवल्दार बाबुलाल प्रसाद साह र पर्साकै पकहा मैनापुर–१ का २७ वर्षीय रामलोचनकुमार पटेलको मृत्यु भएको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए। दुवैको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ।

दुर्घटनामा सिरहाको करजनहा नगरपालका–११ का ५० वर्षीय चन्देश्वर महतो र उनकी श्रीमती ४५ वर्षीया जयन्तीदेवी महतो घाइते भएकी छन्। घाइते दुवैको लालबन्दी नगरपालिकाको नवलपुरस्थित सत्यम अस्पतालमा उपचार भइरहेको छ ।

Share your love