सप्तरी २ मा हरेक पटक नयाँ इतिहास, यस पटक डा. राउत

मङ्सिर ४ को चुनाव धेरैको अनुमान थियो सप्तरी क्षेत्र नं २ मा यस पटक नयाँ इतिहास कायम हुनेछ । तर त्यो अनुमान फेल भयो किनभने यहाँ यो चुनावमा पनि नयाँ अनुहारको विजय भयो । यो निर्वाचन क्षेत्रले पुरानै इतिहास कायम गर्दै यस पटक पनि जनप्रतिनिधिका रूपमा नयाँ अनुहार निर्वाचित गरेको छ ।

अहिलेसम्मका चुनावमा जनप्रतिनिधिका रूपमा नयाँ अनुहार निर्वाचित हुँदै आएको यो निर्वाचन क्षेत्रमा यस पटक पनि जनमत पार्टीका अध्यक्ष डा. सीके राउत निर्वाचित हुनुभयो । डा. राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई १८ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । डा. राउतको ३५ हजार ४२ मत र यादवको १६ हजार नौ सय ७९ मत रहेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो ।

गएको २०७४ सालको चुनावमा जसपा अध्यक्ष यादव यसै क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यस क्षेत्रमा एक पटक निर्वाचित भएका जनप्रतिनिधि पुनः दोहोरिएका छैनन् । पुनः निर्वाचित भएर त्यस क्षेत्रमा नयाँ इतिहास कायम गर्ने योजनामा रहनुभएका यादवलाई पनि यस क्षेत्रका मतदाताले छानेनन् । विसं २०४८ को राजनीतिक परिवर्तनयता भएका ७ वटा चुनावमा यस क्षेत्रले फरक–फरक पार्टीका फरक–फरक व्यक्तिलाई जनप्रतिनिधि चुनेको छ ।

विसं २०४८ को चुनावमा नेपाली कांग्रेसबाट हरिप्रसाद राय विजयी हुनुभएको थियो । २०५१ सालको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेणुकुमारी यादव, २०५६ मा तत्कालीन नेपाल सद्भावना पार्टीका अनिस अन्सारी निर्वाचित हुनभएको थियो ।

विसं २०६४ को पहिलो संविधान सभा चुनावमा तत्कालीन सद्भावना पार्टीबाट महेश यादव र २०७० को दोस्रो संविधान सभा चुनावमा नेकपा (माओवादी केन्द्र) का उमेशकुमार यादवले संविधान सभा सदस्य बन्ने अवसर यसै क्षेत्रबाट पाउनुभएको थियो ।

त्यसैगरी विसं २०७४ को प्रतिनिधि सभा चुनावमा जसपा अध्यक्ष यादव विजयी हुनुभएको थियो । यस चुनावमा भने जनमत पार्टीका अध्यक्ष डा. राउतले पहिलो पटक प्रतिनिधि सभा सदस्यका रूपमा संसद्को यात्रा तय गर्नुभएको हो ।

राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका, छिन्नमस्ता गाउँपालिका गरी चार पालिका रहेको यस क्षेत्रमा ९५ हजार ३ सय ९४ मतदाता छन् । गएको आइतवार सम्पन्न चुनावमा ६४ हजार ५ सय ६० मत खसेको थियो ।

संयुक्त राज्य अमेरिकाको नासाको जागिर छाडेर नेपाल फर्केका ४३ वर्षीय डा. राउत एक दशकअघि नेपालको राजनीतिमा प्रवेश गर्नुभएका हो । दुई ठूला गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर चुनावी परिणाम आफ्नो पक्षमा पार्न सफल डा. राउतसँग मतदाताको ठूलो अपेक्षा रहेको राजनीतिक विश्लेषक देवनारायाण यादवले बताउनुभयो । ‘जुन परिवेश र पृष्ठभूमिमा डा. राउतले चुनाव जित्नुभएको छ पक्कै पनि उहाँका लागि यात्रा तय गर्न सहज छैन’, उहाँले भन्नुभयो, ‘चुनावका बेला लोकप्रिय नाराप्रति मतदाताको आकर्षण धेरै बढेको छ, त्यसलाई सहीरूपमा सम्बोधन गर्नु चुनौती छ ।’

नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादवले मतदाताको चाहना, भावनाअनुसार इमानदारितापूर्वक काम गर्नुपर्ने उहाँको काँधमा जिम्मेवारी आएको बताउनुभयो । यसका साथै सप्तरीको विकासका लागि सञ्चालन भएका रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नरसिंह कलेज, इन्जिनियरिङ कलेज सञ्चालन, कृषि विश्वविद्यालय जस्ता योजनालाई मूर्तरूप दिनुपर्ने यादवको सुझाव छ ।

डा. राउत मतदाताले आफूमाथि गरेको भरोसा टुट्न नदिने बताउनुहुन्छ । ‘मलाई सप्तरीका जनताले ठूलो आशा र भरोसा गरेर जिताएका छन्’, उहाँले भन्नुभयो, ‘जनताको विश्वास र भरोसालाई टुट्न दिन्न, जनादेशलाई शिरमा राखेर काम गर्नेछु ।’ आफ्नो पहिलो कार्ययोजना सरकारी सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउने उहाँले बताउनुभयो ।

सप्तरीलाई शतप्रतिशत शिक्षित जिल्ला बनाउनु, विकराल रहेको कुपोषणलगायतका स्वास्थ्य समस्यालाई हल गर्दै शतप्रतिशत जनताको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउनु, हरेक परिवारलाई रोजगारीसँग जोड्नु र किसानलाई सहजरूपमा मलखाद्य, बिउबिजन र सिँचाइको व्यवस्था गर्नु आफ्नो एजेन्डा रहेको डा. राउतले सुनाउनुभयो ।

Share your love