महासङ्घ चुनाव : ५० प्रतिशत नकटेपछि दाेस्राे चरणमा, उमेश र अञ्जनबीच प्रतिस्पर्धा हुने

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदको लागि पुनःचुनाव हुने भएको छ । बुधवार हिजाे भएको चुनावमा वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारहरुले ५० प्रतिशत मत ल्याउन नसकेकाले पुनः चुनाव हुन लागेको हो ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । रामचन्द्र सङ्घाई भने चुनावी प्रतिस्पर्धाबाट बाहिरिनु भएकाे छ । पहिलो चरणको मतदानमा अञ्जनले ३७ दशमलव ९९, उमेशले ३१ दशमलव ९९ र रामचन्द्रले ३० दशमलव ४६ मत ल्याउनु भएका मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलले बताउनु भयो ।

उहाँले महासङ्घमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भए पनि चुनावी प्रतिस्पर्धामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुमध्ये कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत नपुग्ने भएकाले पुनः दुई जना उम्मेदवारबीच चुनाव हुने बताउनु भयो । उहाँले महासङ्घको विधान अनुसार कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले पहिलो र दोस्रो हुनेबीच पुनः प्रतिस्पर्धा हुने बताउनु भयो । उहाँले वरिष्ठ उपाध्यक्षको लागि दोस्रो चरणको मतदान २ बजेदेखि ५ बजेसम्मका लागि तोकिएको बताउनु भयो ।

चुनावले आउँदाे ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रीय सदस्यको नयाँ नेतृत्व चयन गर्नेछ । महासङ्घको उपाध्यक्षमा रामचन्द्र सङ्घाई प्यानलबाट दुई र उमेशलाल श्रेष्ठ प्यानलबाट एक जना निर्वाचित भएका छन् । जिल्ला नगर र एसोसिएटमा सङ्घाई समूहबाट उपाध्यक्ष निर्वाचित भएका छन् । जिल्ला नगरमा सुरकृष्ण वैद्य र एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ निर्वाचित हुनुभएको छ  ।

 

Share your love