फर्केर हेर्दा २०७९ : क्रिकेटमा आशलाग्दो र फुटबलमा निराशलाग्दो वर्ष

विश्व कप क्रिकेट छनोट चरण अन्तर्गत लिग–२ को खेल त्रिवि क्रिकेट मैदानमा चलिरहँदा त्यहाँ उपस्थित दर्शकको भिडका कारण पनि आइसीसी तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा नेपाल छायो । तर, दर्शकका कारण छाएको चर्चालाई खेलले पुष्टि गरेन भने त्यो सीमित समयको लागि मात्र हुन्छ । यस पटक दर्शकले मात्र नेपाली क्रिकेटको समर्थन गरेनन् नेपाली क्रिकेटले पनि दर्शकलाई भरपुर, मनोरञ्जन र खुशी दिलायो । उच्च सम्मान प्रकट गर्ने अविश्वसनीय नतिजा दिएर वर्षको अन्ततिर क्रिकेटले ‘ह्याप्पी एन्डिङ’ दियो ।

‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताको अंश नेपाली क्रिकेटको सन्दर्भमा पनि चरितार्थ भएको छ । यसै वर्षको अन्तिममा सात देश सम्मिलित विश्व कप क्रिकेट लिग–२ अन्तर्गत विश्व कप छनाेटको लागि नेपाललाई १२ खेलमा ११ जित आवश्यक थियो । खेलमा जुन लक्ष्य सामान्यतया असम्भव झैँ मानिन्छ र लाग्छ पनि । त्यसमा पनि नेपालको यस अगाडिको प्रदर्शनलाई आधार बनाएर यसो भनिएको थियो ।

तर, असम्भव भन्ने केही हुँदैन भनेजस्तै नेपाल १२ मध्ये ११ खेल जितेर विश्कप छनाेटको बाटोमा पुग्यो । चैत २ गते त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य सुरुमा अलि कठिन झैंँ लागेको थियो । यसअघि नेपालले यति ठूलो लक्ष्य पच्छ्याएको थिएन । त्यसमाथि यूएई नेपालको बाटोमा अन्तिममा सधैँ तगारो बन्ने गरेको थियो । तर, डकवर्थ लुइस मेथडबाट खेल ९ रनले जित्दै नेपाल इतिहास रच्दै विश्व कप छनाेटमा पुग्न सफल भयो ।

यस वर्षको पुस/माघतिर लिग–२ मा खेलेको ९ खेलमध्ये नेपालले एउटामा मात्र जित निकालेको थियो । यस अर्थमा पनि नेपालले शीर्ष ३ मा रहेर विश्व कप छनाेटको यात्रा त धेरै टाढाको कुरा शीर्ष ५ मा रहेर एकदिवसीय मान्यता जोगाउनु पनि ठूलो उपलब्धि मानिन्थ्यो । यसकारण चार वर्ष अगाडि सन् २०१९ मा विश्व कप क्रिकेट लिग–२ खेल्दा नेपालको पहिलो उद्देश्य भनेकै एकदिवसीय मान्यता जोगाउनु थियो ।

यसक्रममा नेपालले प्रशिक्षककारुपमा ३ जनालाई भित्र्यायो, श्रीलंकाली मुलका क्यानेडियन नागरिक पुबुदु दसानायके, पूर्व भारतीय अलराउण्डर मनोज प्रभाकर र अहिलेका प्रशिक्षक भारतीय नागरिक मोन्टी देशाई ।

दसानायकेले केही सफलता दिलाए पनि नेपालको लिग–२ मा सबैभन्दा खराब प्रदर्शन भने मनोज प्रभाकरको प्रशिक्षणको दौरान रह्यो । यसैक्रममा खेलाडीबीचको मनमुटाव, खेलाडी र प्रशिक्षकबीचको विवाद अनि नेपाल क्रिकेट संघ (क्यान)को आन्तरिक किचलोका कारण नेपाली क्रिकेटले सफलताभन्दा धेरै असफलता व्यहोरेको थियो ।

शायद यही कुरालाई नियालिरहेका कारण हुनसक्छ देशाइले भने आउने बित्तिकै सबैभन्दा पहिलो अस्त्रकोरुपमा ‘ह्याप्पी ड्रेसिङ रुम’को सूत्र लिएर आए जुन चामत्कारिक साबित भयो । एकदिवसीय मान्यता जोगाउनै महाभारत भइरहेको समयमा देशाइले एकदिवसीय मान्यतामात्र नभएर नेपाललाई एकदिवसीय विश्व कपको छनोटमा पुर्‍याउन पनि सफल हुनुभयो ।

 

Share your love