मधेसमा एमाले संसदीय दलकाे नेतामा सराेज यादव चयन

मधेस प्रदेशमा नेकपा एमालेको संसदीय दलको नेतामा सरोज यादव चयन हुनुभएकाे छ । यादव महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभामा निर्वाचित हुनुभएकाे थियाे ।

जनकपुरधाममा हिजाे मङ्गलवार राति बसेको एमाले प्रदेश सभा सदस्यको बैठकले दलको नेतामा यादवलाई चयन गरेको हो । अबेर रातिसम्म आकाङ्क्षीहरूबीच सहमति गराइ यादवलाई दलको नेतामा चयन गरिएको प्रदेश सांसद दीपेन्द्र ठाकुरले जानकारी दिनुभयाे ।

दलका नेतामा अन्य आकाङ्क्षीहरू रामचन्द्र मण्डल, रामकुमार लेखी र हरिनारायण महतोलाई पार्टी सरकारमा गएसँगै मन्त्रीको जिम्मेवारी दिने पक्का गरेपछि दलको नेतामा सहमति जुटेको हाे । मधेस प्रदेशमा २३ सिटसहित एमाले पहिलो पार्टी रहेको छ ।

यसअघि नेपाली कांग्रेसको संसदीय दलको नेतामा कृष्णप्रसाद यादव र डा. सीके राउत नेतृत्वको जनमत पार्टीको संसदीय दलको नेतामा महेशप्रसाद यादव चयन हुनुभएकाे थियाे । लोसपा र जसपाको संसदीय दलको नेता अब एक/दुई दिनमै चयन हुने पार्टीले जनाएको छ ।

 

Share your love