भोलि मन्त्रिपरिषद्‌लाई पूर्णता दिने तयारी, राजनीतिक संयन्त्रको बैठक आह्वान

मंगलबारसम्म मन्त्रिपरिषद्‌लाई पूर्णता दिने तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन्।

मन्त्रालय र अरु संवैधानिक पदहरु भागबण्डा गर्न सत्ता साझेदार दलहरु रहेको राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिने कसरत गरेका हुन्।

ओलीसँग लञ्ज मिटिङ गर्न दाहाल सोमाबार बालकोट पुगेका थिए। उनीहरुबीच झण्डै तीन घण्टा छलफल भएको थियो। बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा आजै (सोमबार) टुंगो लाग्ने जानकारी दिए।

दाहालले भने, ‘सरकारले पूर्णता पाउनेबारेमा सबै कुरा आजै टुंगोमा पुग्छ।’ दाहालले मन्त्री र राज्यमन्त्रीहरुको शपथ ग्रहण गराउने गरी तयारी अघि बढाएका हुन्।

दुई नेताबीच छलफल भएपछि भागवण्डालाई औपचारिकता दिन प्रधानमन्त्री दाहालले सोमबार नै राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। सत्ता साझेदार दलहका प्रमुख रहेको बैठक सोमबार बस्ने भने पनि दिउँसो ४ बजेसम्म समय निश्चित भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयले भन्यो, ‘आज राजनीतिक संयन्त्रको बैठक बोलाउने निर्णय भएको छ। तर कति बेला भन्ने टुंगो लागेको छैन।’

नेताहरुबीच दलहरुले पाउने मन्त्रालय र अरु पद बाँडफाँडमा करिब कुरा मिलेको छ। ओली निकट एक नेताका अनुसार एमालेले आठ मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्रालय, राप्रपाले दुई, जनता समाजवादी पार्टीले दुई र जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले एक–एक मन्त्रालय पाउने गरी सहमति भएको छ।

राप्रपाले कम्तिमा तीन मन्त्रालय पाउनुपर्ने अडान राखेका छ। राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्रीसहित उर्जा मन्त्रालयको जिम्मेवारी पाउने पक्का भएको छ। राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भइसकेको छ।

नागरिक उन्मुक्तिले पनि एउटा मात्रै मन्त्रालय लिएर सरकारमा सहभागी हुन आनाकानी गरेको छ। संविधानअनुसार मन्त्रिरिषदमा बढीमा २५ सदस्यीय बनाउन पाइन्छ। हाल प्रधानमन्त्रीसहित आठ जना क्याबिनेटमा छन्।

Share your love