सत्तारुढ दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले साँझ ५ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद् विस्तारसहितका विषयमा निर्णय गर्नका लागि बैठक हुन लागेको जानकारी दिनुभयो ।

बालकोटमा भएको शीर्ष नेताबीचको छलफलपछि साँझ उच्चस्तरीय संयन्त्रको बैठक बस्न लागेको हो ।

’उहाँले भन्नुभयो, प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकबीचको भेटघाट सम्पन्न भएको छ,’ आजै ५ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । जे जस्ता कार्यसूचीहरू बाँकी छन् ,त्यसमा एकसरो गृहकार्य भएको छ । छिट्टै सबै विषयमा आवश्यक निर्णय हुने कुरा यहाँहरूलाई अवगत गराउँछु ।’

उपप्रधान पौडेलले सत्ता साझेदार दल एक ठाउँमा भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डको पछिल्ला अभिव्यक्ति र नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछिको सम्भावित परिणामपछि एमालेले संशय व्यक्त गरिरहेको चर्चा चलिरहेको बेलामा उहाँले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताउनुभयो ।

उहाँले भोलि विश्वासको मत दिने दलहरूसँग बैठक बस्न लागेको भन्दै त्यहाँ अन्य दलको विचार पनि सुन्ने र पार्टीका कुराहरू पनि राख्ने बताउनुभयो ’।

सरकार जे जस्तो राजनीतिक दलहरूको सहमतिमा अगाडि बढेको छ ,गतिका साथ द्रुत गतिमा अगाडि बढ्ने बताउँदै उहाँले सरकारको आयुको बारेमा शङ्का गर्नुपर्ने ठाउँ नभएको प्रष्ट पार्नुभयो ।