सत्तारुढ दलहरुबीच मन्त्रालयको भागबण्डा करिब मिल्यो

काठमाडौँ – सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालयको भागबण्डा मिलेको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा मन्त्रालयको भागबण्डाबारे लगभग सहमति जुटेको हो।

स्रोतका अनुसार नेकपा एमालेले आठ मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रले चार मन्त्री र एक राज्यमन्त्री पाउने छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्रालय पाउने भएको छ।

यस्तै, राप्रपाले दुई, जनता समाजवादी पार्टीले दुई तथा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले एक–एक मन्त्रालय पाउने गरी सहमति भएको बुझिएको छ। तर नागरिक उन्मुक्ति भने एउटा मात्रै मन्त्रालय लिएर सरकारमा सहभागी हुन अनिच्छुक रहेको स्रोतको दाबी छ।

कसले कुन मन्त्रालय पाउने भन्नेबारे अझै टुंगो लागिसकेको छैन। तर रास्वपाले स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय पाउने बताइएको छ। उक्त पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भइसकेका छन्। राप्रपाले उर्जा मन्त्रालय पाउने लगभग सहमति भएको छ। उसले पाउने अर्को मन्त्रालय टुंगो लाग्न बाँकी छ।

उक्त सहमतिलाई अन्तिम रुप दिन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ। भोलि बस्ने बैठकले मन्त्रालयको टुंगो लगाउने छ।

Share your love