आर्थिक वर्ष २०७१/२०७२ बाट निर्माण प्रारम्भ भएको राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले हालसम्म ५९ प्रतिशत भौतिक र ४३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिको प्रयोग गरी निर्माण गर्न लागिएको आयोजनाबाट लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाई सुविधा उपलब्ध गराउने र ४६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको छ ।

आयोजनाको पहिलो चरणमा १२ किलोमिटर लामो सुरुङ १० अर्ब ५६ करोड लागतमा निर्माण कार्य सम्पन्न भइसकेको छ । चिनियाँ कम्पनी चाइना इन्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)ले तोकिएको समयभन्दा १ वर्ष अगावै टनेल बोरिङ मेसिन (टीबीएम)का सहायताले सुरुङ निर्माण गरिसकेको छ ।

हाल दोस्रो चरणका कामहरू सिभिल संरचना (हेडवक्र्स, पावर हाउस तथा सर्ज साफ्ट) हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल अन्तर्गतका कामहरू धमाधम भइरहेका छन् ।

दोस्रो चरणका बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण जेभी र आयोजनाबीच आर्थिक वर्ष २०७९÷०८० मा काम सम्पन्न गर्ने गरी ११ अर्ब ५२ करोड ६१ लाखमा २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । दोस्रो चरणका सबै चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्नुपर्ने कार्यादेश भएको भए पनि यी काम सम्पन्न गर्न थप २ वर्ष लाग्ने देखिन्छ । विश्वव्यापी फैलिएको कोरोना महामारी, निर्माण सामाग्री अभावलगायत समस्याका कारण तोकिएको समयमा आयोजना निर्माण हुन नसकी पछाडि धकेलिएको आयोजनाले जनाएको छ ।

आयोजनाले हाइड्रो मेकानिकल अन्तर्गत गेट तथा पेनस्टक पाइप निर्माणका लागि ठेकेदार परिचालन गर्नुका साथै इलेक्ट्रोमेकानिकल अन्तर्गत टर्वाइन, जेनेरेटर, स्विचयार्ड डिजाइनका कामहरू रहेको आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले जानकारी दिनुभयो ।

आयोजनाको कूल लागत ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म १५ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ खर्च भइसकेको छ ।

नेपालका हिमनदी श्रोत भएका नदीहरूको पानीलाई मझौला नदीहरूमा पथान्तरण गर्न सकिएको खण्डमा विकसित सिँचाई प्रणालीहरूको पूर्ण रुपमा उपयोग गरी कृषि उत्पादनमा वृद्धि भई मुलुकमा खाद्यान्न सङ्कटको समस्या समाधान हुनसक्ने र सोही पानीको श्रोतलाई जलविद्युत उत्पादन, खानेपानी लगायतका अन्य प्रयोजनमा समेत प्रयोग गर्ने गरी राष्ट्रको समग्र विकासमा टेवा पुग्ने दृष्टान्तलाई मध्यनजर गर्दै सन् १९९८ मा जापानको अन्तर्राष्ट्रिय सहयोग संस्था जाइकाले भेरी बबईको वातावरणीय प्रभाव मूल्याङ्कन गरेको थियो । जसमा भेरी नदीको पानी बबईमा खसाली जलविद्युत र सिँचाइको प्रचुर सम्भावना रहेको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो ।

सोही बमोजिम सिँचाई विभागले आर्थिक वर्ष २०६८ भदौ ७ गतेबाट निर्माण कार्य थाल्ने घोषणा गरिएको भए पनि विविध कारणले यसको निर्माण कार्य आर्थिक वर्ष २०७१/०७२ बाट सुरु भएको थियो ।

सुर्खेतको भेरीगंगा नगरपालिका ११ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेज सहितको ब्यारेज निर्माण गर्न लागिएको हो । ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यहाँबाट १२ किलोमिटर सुरुङमार्फत भेरीगंगा नगरपालिका ५ हात्तीखालमा भेरीको पानी बबई नदीमा खसालिनेछ । जहाँ ४६.८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ ।

संघीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी–बबई डाइभर्सन जलविद्युत् कम्पनी स्थापनासमेत गरिसकेको छ ।