प्रचण्ड, देउवा र कोइरालाबीच गठबन्धनप्रति दृढ र स्पष्ट रहनेबारे लिखित सहमति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच गठबन्धनप्रति दृढ र स्पष्ट रहनेबारे लिखित सहमति भएको छ ।

आज बिहान भएको तीन नेताबीचको छलफलमा लिखित सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सहमतिमा सबैजना सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट रहेको तथा यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने उल्लेख छ ।

सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेसका नेता कोइराला निकट केदार कार्की आज बिहान मात्रै कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँ नेकपा एमालेको सहयोगमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले उहाँलाई समर्थन गर्ने एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेस गर्नुभएको थियो । कोशी प्रदेश सभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । कार्की कांग्रेसका ८ सांसदसहित एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो ।

 

अन्तिम अपडेट: असोज २७, २०८०

Share your love