कोशी प्रदेशमा सत्ता समीकरण फेरियो, एमालेको समर्थनमा कांग्रेसका कार्की मुख्यमन्त्री नियुक्त

कोशी प्रदेशको सत्ता समीकरण फेरिएको छ । एमालेको सहयोगमा नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएसँगै त्यहाँको सत्ता समीकरण फेरिएको हो । आज कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नुभएको छ।

कार्कीलाई समर्थन गर्ने एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । बिहान मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको सनाखत भएकोमा एमाले र कार्की पक्षधर कांग्रेसका सांसदहरु मात्र उपस्थित भएका थिए ।

आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्रीमा दाबी गरेका सत्तारुढ गठबन्धनका उम्मेदवार र समर्थक सनाखतका लागि गएनन् । गठबन्धनबाट माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको मुख्यमन्त्रीमा दाबी पेस भएको थियो । तर आङ्बो पक्ष हस्ताक्षर सनाखतका लागि उपस्थित नै भएनन् ।

कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यसअघि असोज २० गते हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

नवनियुक्त मुख्यमन्त्री कार्कीकाे शपथ आइतवार भाेलि दिउँसाे १ बजे हुने भएकाे छ ।

 

Share your love