इजरायली सेनाको निर्देशनपछि उत्तरी गाजाका बासिन्दा घर छाडेर दक्षिणी गाजातर्फ भाग्दै

इजरायली सेनाको निर्देशनपछि गाजाको उत्तरी क्षेत्रका बासिन्दा दक्षिणी गाजातर्फ जान थालेका छन् । इजरायली सेनाले गाजाको उत्तरी क्षेत्रमा स्थलगत आक्रमण गर्ने भन्दै त्यहाँका झन्डै ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणी गाजामा जान निर्देशन दिएपछि स्थानीयहरू घर छाडेर भाग्न थालका हुन् । उनीहरू बन्दोबस्तीका सामानसहित घर छाडेर हिँड्न थालेका छन् ।

इजरायलमा आक्रमण शुरु गरेको प्यालेस्टिनी विद्रोही समूह हमासले भने इजरायलले मनोवैज्ञानिक युद्ध शुरु गरेको भन्दै घर छाडेर नजान उत्तरी गाजाका बासिन्दालाई भनेको छ । तर इजरायलले हमासले सर्वसाधारणलाई ढाल बनाइरहेको भन्दै तत्कालै घर छाड्न भनेको हो । इजरायलले उत्तरी गाजाका बासिन्दालाई घर छाड्न निर्देशन दिएको कुरा संयुक्त राष्ट्रसङ्घलाई पनि जानकारी गराएको छ ।

संयुक्त राष्ट्र र विश्व स्वास्थ्य सङ्गठन दुवैले सम्भावित मानवीय प्रभावलाई उल्लेख गर्दै इजरायली सेनाको कदमको आलाेचना गरेका छन् । संयुक्त राष्ट्रसङ्घले यति ठूलो सङ्ख्यामा मानिस २४ घण्टामा दक्षिण गाजा जान नसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

हमासले गएको शनिबार इजरायलमाथि आक्रमण गरेको थियो । त्यसपछि हमास र इजरायली सेनाबीच युद्ध चर्किएको हो । हमासको आक्रमणमा इजरायलतर्फ एक हजार तीन सय जनाभन्दा धेरैको ज्यान गएको छ भने इजरायली सेनाको आक्रमणमा झन्डै एक हजार आठ सय जना प्यालेस्टिनी मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

Share your love