पर्सामा डीएपी मलको चरम अभाव

पर्सा जिल्लामा डीएपी मलको चरम अभाव भएको गुनासो किसानले गरेका छन् । किसान हकहित संघर्ष समिति पर्साका सचिव पृथ्वी साहले पर्सा जिल्लामा डीएपी मलको चरम अभाव हुँदा किसानहरु समस्यामा परेको बताए ।

‘चैते धान, मकै, उखु, सुर्ती आदि बालीका लागि अहिले डीएपी मलको अत्यधिक माग रहेको छ,’ उनले भने, ‘मलको अभावमा बाली नै बिग्रने चिन्ता भएको छ, उखु बालीतर्फ खुटी बालीमा सिंचाईपछि डीएपी मल छर्ने समय बित्दो अवस्थामा छ, किसानले खोजेको बेलामा डीएपी मल पाउन सकेका छैनन् ।’

नेपाल किसान संघ पर्साका अध्यक्ष असर्फी साहलेपनि डीएपी मलको चरम अभाव भएको गुनासो गरे । चैते धान रोपाई नगरेका किसानलाई बढी समस्या भएको उनले बताए । ‘जसले चैते धान अझै रोपेका छैनन् उनीहरुलाई निक्कै समस्या भएको छ,’ उनले भने, ‘सिचाईं सुविधा भएर भदैया धान बाली लगाउने सोच बनाएका किसानलाई धानको बिउ छर्न पनि डीएपी मलको अभाव रहेको अवस्था छ ।’ सिमा क्षेत्रमा बसोबास गर्ने किसानले भारतबाट डीएपी मल ल्याएपनि उत्तरी भेगका किसानलाई भने विकल्प नरहेको उनले बताए ।

हाल किसानलाई चैते धान, उखु बाली र सुर्ती बालीका लागि समेत डीएपी मलको आवश्यकता रहेको छ । मल आपूर्ती गर्ने सरकारी संस्थान कृषि सामग्री कम्पनीसँग डीएपी मलको पर्याप्त मौज्दात रहेको छैन ।

तालिका अनुसार कृषि सामग्री कम्पनीको डीएपी मल समयमा नभित्रिए मधेस, बागमती र गण्डकी प्रदेशमा समेत यस वर्ष डीएपी मलको अभाव हुने सम्भावना बढेको छ । हाल कम्पनी प्रादेशिक कार्यालय वीरगन्जसँग २ हजार ५ सय ४५ मेटन र वीरगन्ज समेत मधेस प्रदेश भरीका कम्पनीका कार्यालयहरुमा गरी २ हजार ८ सय ८५ मेटन डीएपी मल मौज्दात रहेको कम्पनी मधेस प्रादेशिक कार्यालय वीरगन्जका कायम मुकायम प्रमुख दुर्गाप्रसाद पाण्डेले बताए ।

हाल उपलब्ध डीएपी मल पनि संचित मौज्दात र पठाउन बाँकी कोटाको मल हो । सिन्धुली, पर्वत, दमौली, गजुरी, पोखरा लगायतका कार्यालयमा अझै पनि कोटाको डीएपी मल परिचालन भएकै छैन ।

कार्यालयसँग युरिया मल भने पर्याप्त मौज्दात रहेको छ । हाल वीरगन्जमा ८ हजार ७ सय र मधेश प्रदेशभरका कार्यालयहरुमा १८ हजार ९ सय १३ मेटन युरिया मल मौज्दात रहेको पाण्डेले जानकारी दिए । हाल युरिया मलको माग कम भएकाले यसको मौज्दात बढेको उनको भनाई छ ।

केन्द्रको निर्देशनमा चैते धान बालीलाई लक्षित गरी कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले समेत सञ्चित मौज्दातबाट युरिया र डीएपी मल वितरण गरी रहेका छन् । सामान्यतया यी संस्थानले सञ्चित मौज्दातको मल आपतकालीन अवस्थामा तथा नेपाल कृषि अनुसन्धान परिषद, बिजवृद्धी कार्यक्रम जस्ता सरकारी निकायहरुलाई आवश्यक परेको बेला वर्षैभरी उपलब्ध गराउन भण्डारण गरी राख्ने गरेका छन् । नियमित रुपमा भित्रिने मलको कूल परिमाणबाट १० प्रतिशत छुट्याएर यसरी सञ्चित मौज्दात राख्ने चलन रहेको छ ।

पाइपलाइनमा रहेको कम्पनीको ४५ हजार मेटन डीएपी मल वैशाख अन्त्यतिर आउने सम्भावना रहेको पाण्डेले बताए । कम्पनीले भारतसंग जि टु जि प्रकृयाबाट २५ हजार र ग्लोबल टेण्डरबाट २० हजार गरी ४५ हजार मेटन डीएपी मल भित्र्याउन लागेको उनले बताए ।

‘वैशाख अन्त्य तिर दुवै कन्साइन्मेन्टका मल भित्रिन थाल्ने सम्भावना छ,’ उनले भने, ‘ग्लोबल टेण्डरको कन्साइन्मेन्टको ठेक्का आदित्य बिरला ग्रुपले पाएको र जि टु जीको मल पनि सोही कम्पनीलाई नेपाल सम्म पु¥याउने जिम्मेवारी भारत सरकारले दिएको छ ।’

यस बाहेक कम्पनीले ग्लोबल टेण्डरबाटै २५ हजार मेटन डीएपी र ३० हजार मेटन युरिया मल समेत भित्र्याउन लागेको पाण्डेले जानकारी दिए । ‘यी दुई कन्साइन्मेन्ट मध्ये युरिया मल आपूर्तीको ठेक्का भारतीय कम्पनीले आइपिएलले र डीएपीको ठेक्का पनि सोही कम्पनीले पाएको छ,’ उनले भने, ‘आउदो बर्षे धान बाली सिजन अघिनै यी मल पनि भित्रिन्छन्, यस बाहेक साल्ट ट्रेडिङ्गले पनि नियमित रुपमा मल भित्र्याउदै छ, यसो हुँदा यस वर्ष आउँदो धान बाली सिजनमा मलको अभाव हुने छैन ।’
शंकर आचार्य /कान्तिपुर

Share your love