मेरो रोल मोडल वीपी कोइराला : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपाली राजनीतिमा आफ्नो रोल मोडल व्यक्ति वीपी कोइराला नै भएको बताएका छन् । १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनको चुनावी सभामा वाग्लेले कांग्रेसका संस्थापक नेता वीपी आफ्नो रोल मोडल व्यक्ति भएको बताएका हुन् ।कांग्रेसका स्थापनाकालीन नेताहरुको उद्देश्य अनुसार क्रियाशील नभएकोसमेत वाग्लेले आरोप लगाएका छन् ।

‘नेपाली कांग्रेसका साथीहरु यहाँ हुनुहुन्छ । थोर बहुत परिचय हाम्रो पुरानै हो’, कांग्रेसलाई वाग्लेले प्रश्न गरे, ‘के वीपी कोइराला, सुवर्णशमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको नेपाली कांग्रेस छ यहाँ?’ इलाम–२ मा कांग्रेसबाट उम्मेदवारका आकांक्षी रहेका भेषराज आचार्यले नै टिकट पाउन योग्य रहेको वाग्लेले बताए । तर, आचार्य पक्षले लिएको विचार पार्टीमा बिलाउने अवस्थामा रहेको उनको आरोप थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षलाई संकेत गर्दै उनले भने, ‘अर्को प्रवृत्ति छ । ८० प्रतिशत जति कब्जा त्यो गुटले गरेको छ । विकृत, भ्रष्ट, निकम्मा समूहका रुपमा पनि यहाँ उम्मेदवार बनाइएको छ ।’ योग्य व्यक्तिले टिकट नपाउने पार्टीसँग आशा गर्न नहुने उनले बताए ।

Share your love