न्युजिल्यान्डसँगकाे २ खेलकाे टेस्ट शृङ्खलामा अस्ट्रेलियाकाे ‘क्लिन स्वीप’

न्युजिल्यान्डसँगको दुई खेलको टेस्ट क्रिकेट शृङ्खला अस्ट्रेलियाले ‘क्लिन स्वीप’ गरेको छ । न्युजिल्यान्डले दिएको दुई सय ७९ रनको लक्ष्य अस्ट्रेलियाले चौथो दिनको खाना समयपछि सात विकेट गुमाएर भेटायो । अस्ट्रेलियाका एलेक्स केरीले नट आउट ९८, मिचेल मार्शले ८० रन बनाए । न्युजिल्यान्डका बेन सेर्सले ४ विकेट लिए ।

दोस्रो पारीमा न्युजिल्यान्डले रचिन रविन्द्र, टम लाथम र ड्यारेल मिचेलको अर्धशतकको मद्दतमा ३ सय ७२ रन बनाएको थियो । दोस्रो पारीमा अस्ट्रेलियाका प्याट कमिन्सले ४, नायन लियनले ३ विकेट लिए ।

यसअघि घरेलु मैदान क्रिस्टचर्चमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्ड पहिलो पारीमा १ सय ६२ रनमै अल आउट भएको थियो । न्युजिल्यान्डका टम लाथमले सबैभन्दा धेरै ३८ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवूडले ५ विकेट लिए ।

पहिलो पारीमा अस्ट्रेलियाले मार्नुस लाबुशेनको ९० रनको मद्दतमा २ सय ५६ रन बनाएको थियो । न्युजिल्यान्डका म्याट हेनरीले ७ विकेट लिए ।पहिलो टेस्ट अस्ट्रेलियाले १ सय ७२ रनले जितेको थियो । यसअघि भएकाे तीन खेलकाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला पनि अस्ट्रेलियाले ‘क्लिन स्वीप’ गरेकाे थियाे ।

 

Share your love