नेपाली कामदारलाई मलेसियाका नागरिक सरह सेवा सुविधा दिने कुरामा छलफल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृह मन्त्री सैफुद्दिन नासुसन इजमाइले भेटवार्ता गर्नुभएको छ । शुक्रवार काठमाण्डाैमा एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप बलियाे बनाउनेबारेमा छलफल भएको हो ।

बैठकपछि बोल्दै श्रम मन्त्री अर्यालले मलेसिया सरकारसँग नेपाल सरकारको श्रम सम्झौतालाई नवीकरण गर्ने बेला भएको र नवीकरण गर्दा नेपाली कामदारलाई पनि मलेसियाका नागरिकसरहको सेवा सुविधा दिने कुरामा छलफल भएको बताउनुभयो ।

उहाँले नेपालबाट पनि कामदारलाई मलेसिया पठाउँदा सीप सिकाएर पठाउने कुरामा छलफल भएको बताउनुभयो  त्यस्तै मलेसियाका गृह मन्त्री सैफुदिन नासुसनले नेपालबाट दुई लाख ८५ हजार सात सय ६८ जना श्रमिक मलेसिया गएका र ती मध्येबाट एक लाख ८५ हजार जना निर्माण क्षेत्रमा आबद्ध रहेको बताउनुभयो । त्यस्तै ७० हजार जना सेक्युरिटी गार्डमा कार्यरत रहेको उहाँको भनाइ छ ।

उहाँले मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको उल्लेख गर्दै कामदारअनुकूलको नीति निर्माण गरिरहेको र त्यसका बारेमा पनि बैठकमा छलफल भएको बताउनुभयो । उहाँले कामदारका लागि ज्यालामा पनि वृद्धि गर्ने गरी नीति बनाएको बताउनुभयो । तीन दिने नेपाल भ्रमणका क्रममा बिहीवार बेलुकी आउनुभएका उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम छ ।

 

Share your love