भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

भारतको सर्वोच्च अदालतले एउटा मुद्दाको सुनुवाइका क्रममा सिक्किमका नेपालीलाई विदेशी भनी टिप्पणी गरेपछि सिक्किमका नेपालीभाषी आन्दोलित भएका छन् । सिक्किमका छ वटै जिल्लामा सर्वोच्चको टिप्पणीको तीव्र विरोध भइरहेको छ । साथै पछिल्लो आन्दोलन छिमेकी दार्जिलिङमा पनि सुरु भएको छ ।

प्रदर्शनकारीले सर्वोच्च अदालतले सिङ्गो भारतीय नेपालीमाथि गरेको अपमानलाई तत्काल सच्याउन सात दिनको समयसीमा दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) ले नेपालीलाई किन विदेशीको संज्ञा दिइयो भन्ने विषयमा सरकारले सर्वोच्च अदालतमा रिट दायर गर्ने बताउनुभएको छ ।

हिमाली राज्य सिक्किममा मूलतः नेपाली, भुटिया र लेप्चा समुदायको बसोबास छ । एसोसिएसन अफ ओल्ड सेटलर्स सिक्किमले सन् २०१३ मा आयकर छुटको मागसहित सर्वोच्चमा मुद्दा दायर गरेको थियो । सर्वोच्चले यो सङ्गठनको पक्षमा गएको जनवरी १३ मा फैसला गरेको थियो । यही फैसलाका क्रममा सर्वोच्चले सिक्किमका बहुसङ्ख्यक नेपालीभाषीलाई विदेशी र आप्रवासी भनी टिप्पणी गरेपछि आन्दोलन सुरु भएको हो ।

 

Share your love