सांसद अरुणकुमार चाैधरी कारागार चलान

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । १३ वर्ष पुरानो आगजनीको घटनामा छ महिना कैद सजाय सुनाइएका कैलाली क्षेत्र नम्बर २ बा निर्वाचित चौधरी आज शुक्रवार जेल चलान भएका हुन् ।

बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले प्रतिनिधि सभा सदस्य चौधरीलाई कारागार चलान गरेको हो । बाँकेमा हिजो बिहीवार पक्राउ परेका चौधरीलाई प्रहरीले आज बिहान जिल्ला अदालत कैलालीमा पेस गरेको थियो ।

चौधरीसहित तीन जनालाई थरुहट आन्दोलनताका क्रममा ट्र्याक्टरमा आगजनी गरेको अभियोगमा जिल्ला अदालत कैलालीले छ महिना कैद र आठ लाख ७५ हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो । जिल्ला अदालत कैलालीले तीनै जनालाई दोषी ठहर गर्दै कैद तथा जरिबाना सुनाएको थियो । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी एक हप्ताअघि पक्राउ परेका थिए । त्यसपछि अर्का अभियुक्त सांसद अरुणकुमार चौधरी रहेको खुलेको थियो ।

नागरिक उन्मुक्ति पार्टीले भने सांसद चौधरीको पक्राउको विरोध गर्दै आएको छ । सांसदलाई पक्राउ गर्न सभामुखको अनुमति लिनुपर्ने भए पनि त्योसमेत नलिइ उनलाई पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताउनुभएको छ । तर प्रहरीले भने फौजदारी अभियोगका अभियुक्तलाई पक्राउ गर्न सभामुखको अनुमति लिन नपर्ने व्यवस्था भएकाले आफूहरूले कानुनअनुसार नै पक्राउ गरेर फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरेको बताएको छ ।

यसैबीच हिजाे नै विज्ञप्ति निकालेर नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद चाैधरीलाई रिहाइ गर्न २४ घन्टे अल्टिमेटम दिएकाे थियाे । २४ घन्टाभित्र रिहाइ नगरे आन्दोलनमा जाने पार्टीले चेतावनी दिएकाे छ ।

 

Share your love