नेपालमा बैंकहरूकाे अवस्था सुरक्षित छ, सानोतिनो धक्काले जोखिम आउँदैन : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरूको अवस्था सुरक्षित रहेको बताउनुभएको छ ।

मङ्गलवार राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क सार्वजनिक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले नेपालका बैंक तथा वित्तीय संस्थाहरूको अवस्था सुरक्षित र स्वस्थ रहेको दाबी गर्नुभयो । उहाँले तत्काल सानोतिनो धक्काले नेपालका बैंक तथा वित्तीय संस्थामा जाेखिम नआउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालका बैंक तथा वित्तीय संस्थाहरू सुरक्षित छ । सानोतिनो धक्काले कतै अपेठेराे पर्ने अवस्था देख्दैनौँ । राष्ट्र बैंकको नीति प्रयोगका कारण यो अवस्था आएको छ । अर्थतन्त्रको वास्तविक क्षेत्रमा आएको शिथिलता समेतलाई हेर्दा अहिलेको अवस्थाले आउँदा दिनमा क्रमशः सुधार हुँदै जानेछ भन्ने अपेक्षा छ । यसका लागि उद्योगी व्यवसायी र बैंकर्सहरू उच्च मनोबलका साथ आफ्नो क्षेत्रमा अघि बढ्नुहुनेछ ।’

गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको दाबी गर्नुभयाे । उहाँले पछिल्लो समय बैंकहरूमा तरलता सहज हुँदै आएको बताउनुभयो । उहाँले विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, भुक्तानी कारोबारका लागि गरिएको सचेतना अभिवृद्धि, प्राेत्साहनले विद्युतीय भुक्तानी बढेको पनि बताउनुभयो ।

अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको उल्लेख गर्नुभयो । उहाँले फागुनदेखि कर्जाको ब्याजदर स्थिर भए पनि ‘बेस रेट’ घट्दो दरमा रहेको भन्दै ब्याजदर केही माथि रहेको बताउनुभयो । उहाँले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थमामा पुगेको र मुद्रास्फीति घट्दो क्रममा रहेको बताउनुभयो ।

 

Share your love