निर्वाचन सफल पार्न सुनसरीमा सेना परिचालन

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन सफल बनाउन सुनसरीमा नेपाली सेना परिचालन गरिएको छ ।

जिल्ला सुरक्षा समितिले सुनसरीका सम्वेदनशिल र अति सम्वेदनशिल क्षेत्रमा आज शुक्रबारदेखि सेना परिचालन गरी गस्ति सुरु गरेको हाे । निर्वाचन शान्तिपूर्ण र भयरहित सम्पन्न बनाउनका लागि सुनसरीको धरान तथा इटहरी उपमहानगरपालिका, इनरुवा, दुहबी, रामधुनी र बराहक्षेत्र नगरपालिकामा सेना परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयाे ।

उहाँले कोशी, भोक्राहा नर्सिङ, हरिनगरा, देवानगन्ज र अमडुधा गडी गाँपालिकामा समेत सेना परिचालन गरिएको बताउनुभएकाे हाे । प्रमुख यादवले कृष्णदल गण इटहरीका प्रमुख सेनानी अर्जुन दलालको नेतृत्वमा ४ वटा गुल्पको सेनाको जनशक्ति निर्वाचन सुरक्षाका लागि परिचालन गरिएको बताउनुभयाे ।

उहाँले निर्वाचनका लागि सुनसरीमा ४ सय ४० नेपाली सेना, १ हजार ५ सय ८१ नेपाल प्रहरी, ८ सय ७३ सशस्त्र प्रहरी, १६ जना राष्ट्रि अनुसन्धान र २ हजार ५ सय ५९ म्यादी परिचालन गरिएको बताउनुभयाे । निर्वाचन सफल बनाउन मन्त्रिपरिषदको बैठकको निर्णयले देशभर सेना परिचालन गर्ने निर्णय गरेकाे थियाे । साेही निर्णय अनुसार सुनसरीका ४ वटै निर्वाचन क्षेत्र र १२ वटै पालिकामा सेनाको सेनानीको कमाण्डमा आवश्यकता अनुसार सेना परिचालन गरिएको प्रमुख सेनानी दुलालले जानकारी दिनुभएकाे छ ।

उहाँले निर्वाचनमा हुने सम्भावित अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सेनाको टोलीले २४ सैं घण्टा निगरानी बढाएको बताउनुभयाे । सेनाले सुनसरीका मतदान स्थल र अपराध हुने सम्भावित क्षेत्रमा गस्ति गर्ने भएकाे छ । निर्वाचन बिफल पार्ने समूहले गस्तिमा रहेको सुरक्षाकर्मीको समूहलाई आक्रमण गरे गाेली हान्ने आदेश समेत दिएको सुरक्षा श्रोतले बताएको छ ।

४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा पूर्व उपप्रधान तथा गृहमन्त्री विजय गच्छदार, सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र प्रदेश-१ का पूर्व मुख्यमन्त्री भीम आचार्य र पूर्वमन्त्री अशोक राई चुनावी प्रतिस्पर्धामा रहेकाले सरकाले सुनसरीको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

Share your love