डिग्रे मेलाबाट १४ लाख ७१ हजार रुपैयाँ सङ्कलन

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ थर्पुमा रहेको प्रसिद्ध धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरमा यस वर्ष लागेको मेलाबाट १४ लाख ७१ हजार चार सय ५० रुपैया सङ्कलन भएको छ ।
हरिबाेधनी एकादशीदेखि पूर्णिमासम्म गरेर पाँच दिन लागेको मेलामा आएका दर्शनार्थीले मन्दिरमा चढाएको भेटी, बलि चढाएको बोकाको टाउको मूल्य, होटल सञ्चालन र पिङ सञ्चालनबापत मन्दिर व्यवस्थापन समितिले १४ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन गरेको हो ।

मेलाको तीन दिनमा बलि चढाइएका एक हजार ६१ बोकाको टाउको बिक्रीबाट ६ लाख ६४ हजार सात सय ८०, होटल स्टल बिक्रीबाट एक लाख ४१ हजार दुई सय, पिङ सञ्चालनबाट २७ हजार रुपैयाँ सङ्कलन भएको समितिले जनाएको छ । त्यसैगरी मन्दिरमा पूजापाठ गर्न आएका दर्शनार्थीले मन्दिरमा चढाएको भेटीबाट छ लाख ३५ हजार नाै सय ७० रुपैयाँ सङ्कलन भएको छ ।

यसरी सङ्कलन भएको केही रकम मेला व्यवस्थापनमा खर्च हुने गरेको बताइएको छ । मेला कात्तिक १८ गतेबाट २२ गतेसम्म लागेको थियो ।

Share your love