जिम्बावेले पहिलो पटक अस्ट्रेलियालाई उसकै भूमिमा हरायो

काठमाण्डौ – जिम्बावेले अस्ट्रेलियालाई पहिलो पटक उसकै भूमिमा हराएको छ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई तीन विकेटले हराउँदै जिम्बावेले यो उपलब्धि हासिल गरेको हो ।

अस्ट्रेलियाले दिएको एक सय ४२ रनको लक्ष्य ३९ ओभरमा सात विकेट गुमाएर पूरा गर्दै जिम्बावेले इतिहास रचेको हो । जिम्बावेका लागि रेगिस चकाबाभाले ३७ र तादिवानाशे मरुमानीले ३५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका जोश हेजलवूडले तीन विकेट लिए ।

यसअघि टाउन्सभिलेमा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलिया ३१ ओभरमा एक सय ४१ रन बनाउँदै अलआउट भए । अस्ट्रेलियाका लागि डेभिड वार्नरले ९४ रन बनाए पनि अन्य खेलाडीले राम्रो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ जिम्बावेका रायन बर्लले पाँच विकेट लिए । यो खेल जिम्बावेले जिते पनि शृङ्खला अस्ट्रेलियाले दुई–एकले जितेको छ ।

Share your love